प्यूठानको स्वर्गद्वारी नगरपालिका–९ जुडापाटास्थित माडी खोलाको किनारमा आज पाँच जनाको शव फेला परेको छ।
प्रहरीका अनुसार ती शव रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारा क्षेत्रमा गएराति पहिरोले घर तथा गोठ पुरिँदा बेपत्ता भएकाहरूको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डीएसपी नरहरि अधिकारीले माडी खोलाको किनारमा पाँच शव फेला परेको पुष्टि गरे। उनका अनुसार प्यूठानमा मानिस हराएको वा पहिरोमा परेको घटना नभएकाले माथिल्लो क्षेत्र रोल्पाबाट बाढीले शव बगाएर ल्याएको हुन सक्ने देखिएको हो।
प्रहरीले फेला परेका शवका तस्वीर रोल्पा प्रहरीलाई पठाएको छ। तस्वीरका आधारमा शवको पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
रोल्पाका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले पनि थबाङको पहिरोमा बेपत्ता भएकाहरूका शव प्यूठानमा भेटिएको हुन सक्ने बताए। उनका अनुसार रोल्पाको लुंगी खोला माडी खोलामा मिसिने भएकाले बाढीले पहिरोमा परेका मानिस तथा शवलाई बगाएर प्यूठानसम्म ल्याएको हुन सक्ने सम्भावना छ।
रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारा क्षेत्रमा पहिरोले घर तथा गोठ पुरिँदा तीन जनाको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएको पुष्टि भएको छ। घटनामा नौ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ।
प्यूठानमा फेला परेका पाँच शव ती नौ जना बेपत्तामध्येका हुन् वा होइनन् भन्नेबारे पहिचान तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।