काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेको भोलिपल्ट प्रहरीले सानेपास्थित जनआस्था साप्ताहिकको कार्यालयमा खानतलासी गरेको छ। बिहीबार बिहान करिब ७ बजे प्रहरीको टोली जनआस्थाको कार्यालय पुगेको थियो।
चार–पाँच जना प्रहरी कार्यालयभित्र प्रवेश गरेका थिए भने अन्य प्रहरी बाहिर बसेका थिए। कार्यालयमा प्रवेश गरेका प्रहरीले कागजपत्रसँगै ल्यापटप, कम्प्युटर, मोबाइललगायत विभिन्न उपकरण संकलन गरेर लगेको जनआस्थाले जनाएको छ।
पत्रकार श्रेष्ठलाई प्रहरीले बुधबार राति पक्राउ गरेको थियो। उनको पक्राउको विरोधमा नेपाल पत्रकार महासंघले कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माका अनुसार श्रेष्ठले प्रयोग गर्ने ल्यापटप, कम्प्युटर, मोबाइल तथा इमेलसम्म राज्यले अनधिकृत रूपमा पहुँच प्राप्त गर्न सक्ने भन्दै उनका घरबाट समेत ती सामग्री जफत गरिएको छ।
अध्यक्ष शर्माले घटनाको विरोधमा देशभरका पत्रकारलाई आह्वान गरेकी छन्। महासंघले विरोधस्वरूप धर्ना दिन लागेको पनि उनले जानकारी दिएकी छन्। घटनाबारे थप विरोधका कार्यक्रमसमेत अघि बढाउने तयारी पत्रकार महासंघले गरेको छ।