काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको छ।
हाल हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लागेको छ भने मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा भने मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ। कोशी, गण्डकी, बागमती र कर्णालीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
बिहीबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ। ती प्रदेशका केही स्थानमा मध्यमसम्म वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा सुदूरपश्चिमको तराई भूभागका एक–दुई स्थानमा पनि मध्यमसम्म वर्षा हुनसक्ने विभागले जनाएको छ।
त्यस्तै, बिहीबार राति देशभर सामान्यतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा वा हिमपातको सम्भावना रहेको छ।
विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका केही स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्नेछ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ।