सल्यान । सल्यानमा जिप भेरी नदीमा खस्दा बेपत्ता भएका दुई जनाको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा जिप चालक दाङका करिब २३ वर्षीय हेमराज बीसी र यात्रु सिद्धकुमाख गाउँपालिका–४ का भीमबहादुर राना बेपत्ता भएका हुन्। उनीहरूको अवस्था भने अझै अज्ञात रहेको प्रहरीले जनाएको छ।
बुधबार दिउँसो छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत वनगाड कुपिण्डे नगरपालिका–१, बाङ्गिरह नजिकै लु १ ज ३०२२ नम्बरको बोलेरो जिप सडकबाट भेरी नदीमा खसेको थियो। जिप बालुवा सङ्ग्राहीबाट सल्लीबजारतर्फ जाँदै थियो।
दुर्घटनामा जिपमा सवार अन्य दुई जना घाइते भएका छन्। वनगाड कुपिण्डे नगरपालिका–१ का प्रेम विक र खुमलाल बुढाथोकी घाइते भएका हुन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा परिचालन गरी बेपत्ता दुई जना र जिपको खोजी भइरहेको छ।