ग्यास आपूर्ति सहज बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार
1k
Shares
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यासको आपूर्ति, वितरण तथा ढुवानीलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली निर्माणको काम अघि बढाइएको बताएकी छन्।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित संरक्षण समितिले बुधबार आयोजना गरेको खाद्य आपूर्तिसम्बन्धी छलफलमा मन्त्री गौरीकुमारीले ग्यासको अवस्थाबारे उपभोक्ताले सहज रूपमा जानकारी पाउने गरी प्रणाली विकास गर्न लागिएको जानकारी दिइन्।
उनका अनुसार गुगल फाराम भरेर ग्यासको उपलब्धता तथा आपूर्तिसम्बन्धी विवरण हेर्न सकिने प्रणाली सार्वजनिक गर्ने तयारी भइरहेको छ। यसबाट ग्यासको आपूर्ति र वितरण प्रक्रियालाई थप पारदर्शी बनाउन सहयोग पुग्ने उनको भनाइ छ।
मन्त्री गौरीकुमारीले सिंहदरबार परिसरमा आगामी २८ साउनदेखि खाद्यको स्टल सञ्चालन गरी खाद्यान्न बिक्री वितरण गर्न लागिएको पनि जानकारी दिइन्।
यसैबीच, नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र साहले एक साताभित्र ग्यासको आपूर्ति सहज हुने दाबी गरेका छन्। उनका अनुसार मंगलबार मात्रै १३४ वटा ग्यास बुलेट नेपाल भित्रिएका छन्।
साहले २६ साउनसम्म ३४ लाख ग्यास सिलिन्डर नेपाल भित्रिएको दाबी गर्दै पछिल्लो आपूर्ति व्यवस्थाका कारण बजारमा देखिएको अभाव क्रमशः सहज हुँदै जाने बताए।