काठमाडौं । बजारमा कुखुराको मासु र अन्डाको मूल्य लगातार बढे पनि यसको प्रत्यक्ष लाभ किसानले पाउन नसकेको पाइएको छ । किसान लागत मूल्यसमेत नपाउने अवस्थामा रहेका बेला बिचौलिया र खुद्रा व्यापारीले भने बढेको मूल्यबाट लाभ लिइरहेको सरोकारवालाले बताएका छन् ।
साउन महिनामा मात्रै अन्डाको मूल्य चार पटकसम्म बढाइएको छ । साउन २ गते एक्सएल अन्डाको फार्म मूल्य प्रतिक्रेट ४ सय ६५ रुपैयाँ, ठूलो अन्डा ४ सय ५० रुपैयाँ र मिडियम अन्डा ४ सय २० रुपैयाँ थियो । साउन २६ गतेसम्म आइपुग्दा यी मूल्य क्रमशः ५ सय ६०, ५ सय ४५ र ५ सय रुपैयाँ पुगेका छन् ।
तर संघले तोकेको उपभोक्ता मूल्य प्रतिगोटा २५ रुपैयाँ भए पनि खुद्रा बजारमा उपभोक्ताले एउटा अन्डाको ३० रुपैयाँसम्म तिर्नुपरेको छ । साइजअनुसार फरक मूल्य पर्ने अन्डा व्यापारीले किसानबाट एकमुस्ट खरिद गरी छुट्याएर महँगोमा बिक्री गर्ने गरेको आरोप छ ।
कुखुराको मासुको मूल्य पनि बढेको छ । जिउँदो कुखुराको मूल्य प्रतिकिलो २ सय ४० रुपैयाँबाट बढाएर २ सय ५० रुपैयाँ पुर्याइएको छ । तयारी मासुको थोक मूल्य प्रतिकिलो ३ सय ३० रुपैयाँबाट ३ सय ४५ रुपैयाँ पुगेको छ । काठमाडौंका खुद्रा पसलमा भने उपभोक्ताले प्रतिकिलो ३ सय ८० देखि ४ सय १० रुपैयाँसम्म तिर्नुपरेको छ ।
मूल्य बढ्नुको प्रमुख कारण बर्डफ्लुलाई देखाइएको छ । पशु सेवा विभागका अनुसार पछिल्लो चार महिनामा बर्डफ्लु संक्रमणका कारण ८ लाख ३५ हजार ५ सय ६३ वटा पन्छी नष्ट भएका छन् । यस क्रममा १२ लाख २५ हजार ५ सय ३६ वटा अन्डा र २ लाख ६४ हजार २ सय १३ किलो दाना पनि नष्ट भएको छ ।
नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुका कारण देशभर करिब १० देखि १२ लाख अन्डा दिने कुखुरा नष्ट भएका छन् । दैनिक अन्डा उत्पादन ४०–४१ लाख गोटाबाट घटेर २९–३० लाखमा झरेको उनको भनाइ छ ।
उत्पादन घटे पनि किसानले भने अझै लागतअनुसारको मूल्य पाउन नसकेको उनले बताए । उनका अनुसार एक क्रेट अन्डा उत्पादनको लागत करिब ५ सय ७३ रुपैयाँ पर्छ, जबकि किसानले ठूलो अन्डाको प्रतिक्रेट ५ सय ४५ रुपैयाँ मात्रै पाइरहेका छन् ।
कुखुरा तथा अन्डाको बजारमा बिचौलियाको भूमिका पनि समस्याका रूपमा देखिएको छ । किसानले आफैं बजारसम्म उत्पादन पुर्याउन नसक्ने र अन्डा लामो समय भण्डारण गर्न नसकिने भएकाले डिलर तथा सप्लायर्सले तोकेको मूल्यमा बिक्री गर्न बाध्य हुनुपरेको व्यवसायीहरूको भनाइ छ ।
उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले व्यावसायिक तथा वस्तुगत संघलाई वस्तुको मूल्य तोक्ने कानुनी अधिकार नभएको बताएका छन् । संघहरूले मूल्य तोक्ने, त्यसकै आधारमा बजारमा मूल्य बढाउने र कार्टेलिङ गर्ने प्रवृत्तिले किसान तथा उपभोक्ता दुवै मर्कामा परेको उनको भनाइ छ ।
उनले सरकारको अनुगमन संयन्त्र कमजोर हुँदा बिचौलिया र व्यापारीको मनोमानी बढेको आरोप लगाउँदै मूल्य निर्धारण र बजार अनुगमनमा सरकारले प्रभावकारी हस्तक्षेप गर्नुपर्ने माग गरेका छन् ।
यसैबीच, पोल्ट्री व्यवसायी मञ्च नेपालले पनि बजारमा कुखुरा र अन्डाको केही अभाव रहेकाले त्यसको फाइदा बीचका व्यापारीले उठाइरहेको दाबी गरेको छ । बर्डफ्लुका कारण ठूलो क्षति बेहोरेका किसानलाई राहत दिन लागतअनुसारको मूल्य सुनिश्चित गर्नुपर्ने व्यवसायीहरूको माग छ ।