काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’अन्तर्गत पहिलो चरणमा छनोट भएका विजेतामध्ये १४ जनाको नाम सार्वजनिक गरिएको छ।
आन्तरिक राजस्व विभागका अनुसार साउन १ देखि १५ गतेसम्मको अवधिका विजेतामध्ये १० लाख रुपैयाँको बम्पर पुरस्कार हेमराज जोशीले जितेका छन्। विभागले १५ जना उपभोक्तालाई जनही १ लाख रुपैयाँको उपभोक्ता पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो।
१ लाख रुपैयाँको पुरस्कार पाउने विजेतामा अनिषा खनाल, अमित राई, नरेन्द्रबहादुर बिके, हिमाल अर्याल, राजकुमार लामिछाने, अर्जुनकुमार न्यौपाने, सपना न्यौपाने खनाल, सञ्जय श्रेष्ठ, मनोज सिंह, किरण सुनुवार (बिके), प्रविण कँडेल, एकता शर्मा श्रेष्ठ र साहारा गुरुङ रहेका छन्।
विभागका अनुसार १५ जना विजेतामध्ये दुई कुपनका विषयमा थप छानबिन गरी निर्णय गर्नुपर्ने भएकाले उनीहरूको नाम हाल सार्वजनिक गरिएको सूचीमा समावेश गरिएको छैन।
सरकारले चालु आर्थिक वर्षको साउन १ गतेदेखि करदाता प्रोत्साहन उपहार कार्यक्रम कार्यान्वयनमा ल्याएको हो। अनलाइन माध्यमबाट वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता कार्यक्रमको प्रणालीमा स्वतः सहभागी हुने व्यवस्था गरिएको छ। तर सामान वा सेवा खरिद गर्दा भ्याट वा प्यान बिल लिनु अनिवार्य छ।
नगदमा वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले भने सक्कल भ्याट वा प्यान बिल लिएर आन्तरिक राजस्व विभागको उपहार पोर्टलमा दर्ता गर्नुपर्ने व्यवस्था छ।
कार्यक्रमअन्तर्गत प्रत्येक दिन एक जना उपभोक्तालाई कर कट्टीपछि १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। यस्तै, प्रत्येक १५ दिनमा बम्पर पुरस्कारसमेत प्रदान गरिने व्यवस्था गरिएको छ।
विभागले उपहारको घोषणा हरेक महिनाको १६ गते र महिनाको अन्तिम दिन गर्ने जनाएको छ। १ लाख रुपैयाँको पुरस्कारका लागि करसहितको कुल रकम १ लाख ३३ हजार ३३४ रुपैयाँ निर्धारण गरिएको छ, जसबाट २५ प्रतिशत कर कट्टी गरेपछि विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। १० लाख रुपैयाँको बम्पर पुरस्कारमा पनि २५ प्रतिशत कर लाग्ने व्यवस्था छ।
सरकारले उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा बिल लिन प्रोत्साहित गर्दै कर प्रणालीमा पारदर्शिता र वित्तीय अनुशासन बढाउने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो। कार्यक्रममा सहभागी हुन सक्कल भ्याट वा प्यान बिल सुरक्षित राख्नु आवश्यक हुने विभागले जनाएको छ।