सुगौली सन्धिको सक्कल प्रति खोजीबारे भारतले भन्यो– द्विपक्षीय संयन्त्रमार्फत छलफल गर्न सकिन्छ

1.6k Shares

काठमाडौँ । सन् १८१६ मा नेपाल र तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनीबीच भएको सुगौली सन्धिको सक्कल प्रति नपाइएको विषयमा भारतले द्विपक्षीय संयन्त्रमाफर्त छलफल गर्न सकिने जनाएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मंगलबार नियमित पत्रकार सम्मेलनमा नेपाल र भारतबीच केही विषयमा मतभेद हुन सक्ने भए पनि त्यस्ता विषय समाधानका लागि द्विपक्षीय संयन्त्र रहेको बताएका हुन्।

उनले नेपाल–भारत सम्बन्ध राम्रो रहेको उल्लेख गर्दै दुई देशबीच सहमति हुन नसकेका विषयलाई स्थापित संयन्त्रमाफर्त छलफल गर्न सकिने बताए। प्रतिनिधिसभाको सोमबारको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले सुगौली सन्धिको सक्कल प्रति नेपालसँग नरहेको वा कहाँ रहेको भन्ने यकिन गर्न नसकिएको जानकारी गराएका थिए। त्यसपछि सन्धिको सक्कल प्रति नेपालसँग छ कि बेलायतमा छ भन्ने विषयमा बहस सुरु भएको थियो।

सन् १८१६ को सुगौली सन्धि नेपाल र तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनीबीच भएको थियो। उक्त सन्धिपछि नेपाल–ब्रिटिस भारतबीचको सीमासम्बन्धी व्यवस्थामा महत्वपूर्ण परिवर्तन भएको थियो। विशेषगरी महाकाली नदीलाई सीमाको आधार बनाइएको सन्धिलाई कालापानी, लिपुलेक र लिम्पियाधुरासम्बन्धी नेपालको दाबीको ऐतिहासिक आधारका रूपमा पनि लिइन्छ।

सन्धिको सक्कल प्रति हराएको वा फेला नपरेको विषय भने नयाँ होइन। यसअघि पनि नेपालका महत्वपूर्ण ऐतिहासिक दस्तावेज सुरक्षित नरहेको विषय सार्वजनिक हुँदै आएको थियो।

सन् २०१९ मा प्रकाशित एक रिपोर्टअनुसार सुगौली सन्धि र सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि दुवैको सक्कल प्रति नेपालका अभिलेखमा फेला नपरेको उल्लेख गरिएको थियो।

यसैबीच, सुगौली सन्धिको सक्कल प्रति नभेटिएको विषयले नेपाल–भारत सीमा विवादसँग सम्बन्धित ऐतिहासिक दस्तावेजको संरक्षण र अभिलेखीकरणमाथि समेत प्रश्न उठाएको छ।

भारतले भने अहिले उठेको विषयलाई आपसी संवाद र विद्यमान द्विपक्षीय संयन्त्रमाफर्त छलफल गर्न सकिने संकेत गरेको छ। भारतीय विदेश मन्त्रालयले सुगौली सन्धिको सक्कल प्रति नभेटिएको विषयमा कुनै छुट्टै दाबी वा निष्कर्ष सार्वजनिक नगरी यसलाई दुई देशबीच छलफल गर्न सकिने विषयका रूपमा प्रस्तुत गरेको हो।

सम्बन्धित समाचार