काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहितकुमार पौडेललाई टोलीको नेतृत्व गर्दा पुर्याएको योगदानका लागि धन्यवाद दिएको छ ।
क्यानले सोमबार रोहितलाई एकदिवसीय (ओडीआई) टोलीको कप्तानबाट हटाउँदै सन्दीप लामिछानेलाई नयाँ कप्तान नियुक्त गरेको थियो । कप्तानीबाट हटाएपछि क्यानले सामाजिक सञ्जालमार्फत रोहितको नेतृत्वको प्रशंसा गर्दै धन्यवाद दिएको हो ।
‘धन्यवाद, रोहित, एउटा राष्ट्रको आशा बोकेर जोश, समर्पण र अटल दृढताका साथ नेपालको नेतृत्व गर्नुभएकोमा,’ क्यानले फेसबुकमा लेखेको छ ।
क्यानले रोहितको कप्तानीमा नेपाली क्रिकेटले उल्लेखनीय उपलब्धि हासिल गरेको र नेपाली क्रिकेटको यात्रामा लामो समयसम्म स्मरणीय रहने क्षणहरू सिर्जना भएको जनाएको छ ।
‘हाम्रो पुरुष राष्ट्रिय क्रिकेट टोलीको कप्तानका रूपमा तपाईंको नेतृत्वमा हामीले उल्लेखनीय उपलब्धिहरू हासिल गर्यौँ र यस्ता अविस्मरणीय क्षणहरू सिर्जना गर्यौँ, जुन नेपाली क्रिकेटको यात्रामा सधैँ गर्वका साथ स्मरण गरिनेछन्,’ क्यानले भनेको छ ।
टोली, देश र क्रिकेटप्रति रोहितले देखाएको प्रतिबद्धता सधैँ प्रेरणादायी रहेको क्यानको भनाइ छ । आगामी दिनमा पनि रोहितले राष्ट्रिय टोलीमा भावना, गौरव र समर्पणका साथ योगदान गरिरहने विश्वास क्यानले व्यक्त गरेको छ । क्यानले आफ्नो सन्देशको अन्त्यमा लेखेको छ, ‘एकपटक नेता बनेपछि सधैँ नेता नै रहिन्छ ।’