सन्दीप बने ओडीआई कप्तान, नेपाली क्रिकेट टोलीमा व्यापक फेरबदल

1.6k Shares

काठमाडौं । क्रिकेट विश्वकप लिग–२ मा लगातार कमजोर प्रदर्शनपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा कप्तानसहित व्यापक फेरबदल गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले लेग स्पिनर सन्दीप लामिछानेलाई नेपाली एकदिवसीय टोलीको नयाँ कप्तान नियुक्त गरेको छ।

अगस्ट ३० देखि मलेसियामा सुरु हुने एसीसी पुरुष प्रिमियर कपका लागि पनि सन्दीपकै कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको छ। हालै नेदरल्यान्ड्समा भएको लिग–२ सिरिजका चारवटै खेलमा नेपाल पराजित भएपछि क्यानले टोलीमा व्यापक परिवर्तन गरेको हो।

सन्दीपले यसअघि सन् २०२२ मा पहिलोपटक नेपाली सिनियर टोलीको कप्तानी गरेका थिए। उनको नेतृत्वमा नेपालले १४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको थियो। त्यसपछि रोहित पौडेलले कप्तानी सम्हालेका थिए। अब रोहितलाई प्रतिस्थापन गर्दै सन्दीप पुनः ओडीआई कप्तान बनेका हुन्।

क्यानका क्रिकेट निर्देशक विनोद दासका अनुसार ओडीआईमा अपेक्षाअनुसार प्रदर्शन हुन नसकेपछि तत्काल सकारात्मक प्रभाव पार्ने उद्देश्यले नेतृत्व परिवर्तन गरिएको हो। लिग–२ मा नेपालले ३२ खेलबाट ११ जित र दुई नतिजाविहीन खेलसहित २४ अंक जोडेको छ र आठ टोलीमध्ये सातौँ स्थानमा छ। अब लिग–२ का चार खेल बाँकी छन्।

रोहितको कप्तानीमा नेपालले अघिल्लो लिग–२ चक्रमा उत्कृष्ट प्रदर्शन गर्दै एकदिवसीय मान्यता जोगाउनुका साथै विश्वकप छनोटसमेत खेलेको थियो। उनकै कप्तानीमा नेपालले दुईपटक टी–२० विश्वकपमा पनि सहभागिता जनाएको थियो। पछिल्लो समय भने टोलीको प्रदर्शन खस्किएपछि क्यानले नेतृत्व परिवर्तन गरेको हो।

प्रिमियर कपमा ६ खेलाडी बाहिर

प्रिमियर कपका लागि घोषित टोलीमा नेदरल्यान्ड्स भ्रमण गरेको टोलीबाट ६ खेलाडी बाहिरिएका छन् भने चार नयाँ खेलाडी समावेश भएका छन्।

सन्दीप लामिछानेको कप्तानीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुल्शन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा टोलीमा छन्।

नेदरल्यान्ड्स गएको टोलीबाट कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, विनोद भण्डारी, सोमपाल कामी र नन्दन यादव बाहिरिएका छन्। देव खनाल, सन्दीप जोरा, बसिर अहमद र शेर मल्लले टोलीमा पुनरागमन गरेका छन्।

नयाँ टोलीमा स्पिन बलिङलाई बढी प्राथमिकता दिइएको छ। कप्तान सन्दीपसँगै ललित राजवंशी र शेर मल्ल विशेषज्ञ स्पिनरका रूपमा छन् भने दीपेन्द्रसिंह ऐरी र बसिर अहमद स्पिन अलराउन्डरका रूपमा रहनेछन्। यसरी टोलीमा पाँच स्पिन विकल्प छन्।

अस्ट्रेलियाका लागि नेपाल ‘ए’ टोली घोषणा

क्यानले अस्ट्रेलियाको डार्विनमा अगस्ट २१ देखि हुने टप एन्ड टी–२० प्रतियोगिताका लागि अनिलकुमार शाहको कप्तानीमा नेपाल ‘ए’ टोली पनि घोषणा गरेको छ।

नेपाल ‘ए’ टोलीमा कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, शाहब आलम, पवन सर्राफ, आकाश चन्दलगायत खेलाडी छन्। प्रिमियर कप टोलीमा स्थान बनाउन नसकेका कुशल भुर्तेललाई नेपाल ‘ए’ टोलीमा समावेश गरिएको छ।

नेपालले आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानमा हुने २०औँ एसियन गेम्समा पनि प्रतिस्पर्धा गर्दैछ। एसियन गेम्सको समूह चरणमा नेपालले अफगानिस्तान र आयोजक जापानसँग खेल्नेछ। समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन्।

सम्बन्धित समाचार