२५ साउन, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद भुवनबहादुर सुनारले वर्तमान सरकार सुशासन र सदाचारको मर्मअनुरूप अघि बढ्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
सोमबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सदाचार नीति, २०८३’ कार्यान्वयनका सम्बन्धमा भएको छलफलमा सांसद सुनारले सरकारका काम–कारबाहीप्रति प्रश्न उठाएका हुन् ।
उनले सरकारका गतिविधिमा सुशासन र सदाचारलाई प्राथमिकतामा राख्नुपर्ने भए पनि त्यसअनुसारको प्रभावकारी काम हुन नसकेको बताए । नीति कार्यान्वयन चुनौतीपूर्ण भए पनि त्यसबाट पछि हट्न नहुने उनको भनाइ थियो ।
‘सरकार नयाँ भएर हो वा राजनीतिक असहजताका कारण, तर सुशासन र सदाचारमा जुन स्तरको ध्यान दिनुपर्ने थियो, त्यो पुगेको देखिँदैन । सरकारका काम–कारबाहीहरू अझै पनि पूर्ण रूपमा सदाचारी र सुशासनमैत्री हुन सकेका छैनन्,’ उनले भने ।
सांसद सुनारले सुशासन कायम गर्न कानुनी तथा प्रशासनिक सुधारसँगै नागरिक तहमा नैतिक चेतनाको विकास आवश्यक रहेको बताए । विगतमा विद्यालयको पाठ्यक्रममा नैतिक शिक्षा समावेश हुने गरेको स्मरण गर्दै उनले अहिले समाजमा बढ्दै गएको विकृति, विसङ्गति र अराजकता नियन्त्रणका लागि नैतिक शिक्षाको आवश्यकता झनै बढेको धारणा राखे ।
उनका अनुसार समाजमा सदाचारको संस्कृति विकास गर्न राज्यका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ । सदाचारलाई केवल सरकारी दस्ताबेज र औपचारिक कार्यक्रममा सीमित राख्दा अपेक्षित परिणाम हासिल हुन नसक्ने उनले बताए ।
सांसद सुनारले राष्ट्रिय सदाचार नीति, २०८३ लाई कागजमा मात्रै सीमित नराखी वडा तहसम्म पुर्याउनुपर्नेमा जोड दिए । त्यसका लागि स्थानीय तहसम्म जिम्मेवार अधिकारी तोकेर नीति कार्यान्वयनको स्पष्ट संयन्त्र निर्माण गर्नुपर्ने उनको सुझाव थियो ।
उनले नीति कार्यान्वयनको नियमित अनुगमन तथा मूल्याङ्कन गर्नुपर्ने र कमजोरी देखिए तत्काल सुधारका उपाय अपनाउनुपर्ने बताए ।
सदाचार र सुशासन बलियो नभएसम्म राज्यका अन्य नीति तथा कार्यक्रमको प्रभावकारिता पनि कमजोर हुने भन्दै सांसद सुनारले सरकारलाई यस क्षेत्रमा थप दृढताका साथ काम गर्न आग्रह गरे।