लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु

1.5k Shares

रूपन्देही । लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन गर्ने अभियान सुरु भएको छ । बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले आरोग्य पर्यटनलाई प्रवर्द्धन गर्न थालिएको हो ।

निजी क्षेत्रको ट्रान्क्विलिटी स्पाले लुम्बिनीलाई केन्द्रमा राखेर हालै भैरहवामा पर्यटन व्यवसायीसँग अभियानबारे छलफल गरेको थियो । कार्यक्रममा स्पाका लुम्बिनी प्रदेश क्षेत्रीय निर्देशक नवीन थापाले आरोग्य पर्यटनअन्तर्गत विभिन्न प्याकेजबारे जानकारी दिएका थिए ।

उनका अनुसार प्याकेजमा योग, ध्यान, मसाज, हाइड्रोथेरापी, स्टिम बाथ, बडी स्क्रब, फिटनेस लगायतका सेवा समेटिएका छन् ।

लुम्बिनी प्रदेश होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले आरोग्य पर्यटनको बजारीकरणमा जोड दिनुपर्ने बताए । नेपाल एसोसिएसन अफ ट्राभल एजेन्सिज (नाटा) का सदस्य चन्द्र थापाले आरोग्य पर्यटनलाई नियमित पर्यटकीय प्याकेजसँग जोड्न सके नेपाल आउने पर्यटकको बसाइ अवधि बढाउन सकिने धारणा राखे ।

लुम्बिनीमा धार्मिक तथा आध्यात्मिक पर्यटनसँगै स्वास्थ्य, योग र ध्यानजस्ता सेवाको विस्तार गर्न सके पर्यटकको बसाइ र पर्यटनबाट हुने आम्दानी बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार