एन्फा निलम्बनको असर : फुटबल एकेडेमीका बाल खेलाडीको खानामै संकट

1.1k Shares

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को निलम्बनपछि नेपाली फुटबल गतिविधि ठप्पजस्तै बनेको छ । यसको प्रत्यक्ष असर फुटबलमा आश्रित खेलाडी, प्रशिक्षक तथा कर्मचारीमा परेको छ । विशेषगरी फिफाको ‘गोल प्रोजेक्ट’ अन्तर्गत सञ्चालित फुटबल एकेडेमीका बाल खेलाडीहरू समस्यामा परेका छन् ।

नेपालका चार स्थानमा सञ्चालनमा रहेका एकेडेमीमा सयभन्दा बढी बालबालिका प्रशिक्षण लिइरहेका छन् । एन्फाबाट नियमित स्रोत नआएपछि उनीहरूको खानपिन, शिक्षादेखि दैनिक आवश्यकतासम्म प्रभावित हुन थालेको छ ।

एकेडेमीका एक कर्मचारीका अनुसार केही समयअघिसम्म पौष्टिक आहार खाएर प्रशिक्षणमा जाने बालबालिका अहिले चिया र बिस्कुटमै निर्भर हुनुपर्ने अवस्था आएको छ । विद्यालय शुल्कदेखि किराना पसलसम्म उधारोमा चलाउनुपर्ने अवस्था रहेको उनले बताए ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा रहेको एकेडेमीमा २१ जना बाल खेलाडी छन् । उनीहरू यसअघि मकवानपुरको सिस्नेरीमा थिए । दुई वर्षअघि बाढीपहिरोमा परी ६ खेलाडीको मृत्यु भएपछि उनीहरूलाई हेटौंडा हुँदै सातदोबाटो ल्याइएको हो ।

तर, एन्फाबाट नियमित रकम नआएपछि अहिले खेलाडीको खानपिन र पढाइ प्रभावित हुन थालेको छ । खेलाडीलाई दिनुपर्ने नियमित डाइट र खानाको व्यवस्थामा समस्या आएको एन्फा प्रवक्ता सुरेश शाहले पनि स्वीकार गरेका छन् ।

उनका अनुसार ललितपुरको एकेडेमी सञ्चालनका लागि मात्रै सातामा करिब दुई लाख रुपैयाँ खर्च हुन्छ । एन्फा निलम्बनमा परेपछि उक्त रकम पठाउन नसकिएको उनको भनाइ छ ।

ऋण लिएर एकेडेमी धान्दै

ललितपुरबाहेक बुटवल र रौतहटमा सञ्चालित एकेडेमीको अवस्था पनि उस्तै छ । बुटवलको एकेडेमीमा ३० जना विद्यार्थी, दुई प्रशिक्षक र चार–पाँच जना कर्मचारी छन् । एकेडेमीका कार्यवाहक निर्देशक शंकर मल्लका अनुसार एन्फाबाट रकम नआएपछि ऋण लिएर सञ्चालन गर्नुपर्ने अवस्था छ ।

विद्यालयले दशैंअघि शुल्क मागिरहेको र किराना पसलमा पनि तीन महिनाभन्दा बढीको रकम तिर्न बाँकी रहेको उनले बताए । कर्मचारीले समेत तलब नपाएको उनको भनाइ छ ।

यद्यपि, बाल खेलाडीको प्रशिक्षण र पढाइ रोक्न नदिएको मल्लले बताए । उनका अनुसार आवश्यक व्यवस्थापनका लागि आफूहरूले सक्दो प्रयास गरिरहेका छन् ।

रौतहटको एकेडेमीमा २९ जना बालबालिका छन् । एन्फाबाट रकम नआएपछि सञ्चालकहरूले आफ्नै नाममा ऋण लिएर एकेडेमी सञ्चालन गरिरहेका छन् । संयोजक भगवान दर्लामीले बजारमा क्रेडिट लिएर खर्च व्यवस्थापन गरिरहेको बताए ।

एन्फा निलम्बन चाँडो फुकुवा भए बाल खेलाडीले पाउँदै आएको सेवा–सुविधा पुनः नियमित हुने र फुटबल गतिविधिले पनि गति लिने उनको अपेक्षा छ ।

धरानमा भने स्थानीय साझेदारीको भर

धरानस्थित एकेडेमीमा भने अन्य तीन स्थानको तुलनामा आर्थिक समस्या कम देखिएको छ । त्यहाँ ३० जना खेलाडी छन् । एकेडेमीका अध्यक्ष किशोर राईका अनुसार स्थानीय तह, प्रदेश सरकार र सहयोगी दाताको सहकार्यमा एकेडेमी सञ्चालन भइरहेको छ ।

धरान उपमहानगरपालिकाले नियमित बजेट छुट्याउने तथा प्रदेश सरकार र अन्य दाताबाट समेत सहयोग प्राप्त भइरहेको उनले बताए । एन्फाले पनि साझेदारीका रूपमा केही रकम उपलब्ध गराउँदै आएको उनको भनाइ छ ।

‘सरकारले गतिविधि नगर्न भनेको छ’

एन्फा भने आफूले चाहेर पनि एकेडेमीलाई नियमित रकम उपलब्ध गराउन नसकेको बताउँछ । एन्फा प्रवक्ता शाहका अनुसार निलम्बनपछि दुई–तीन महिनादेखि एकेडेमीमा रकम पठाउन सकिएको छैन ।

सरकारले कुनै पनि गतिविधि नगर्न भनेकाले एन्फाले रकम पठाउन नसकेको उनको तर्क छ । तर, एन्फा केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामा बाल खेलाडीको भविष्यप्रति सरकार गम्भीर हुनुपर्ने बताउँछन् ।

उनले खेलाडीलाई आधारभूत आवश्यकताबाट समेत वञ्चित हुने अवस्था आउन नदिन सरकार र खेलकुद मन्त्रालयले तत्काल पहल गर्नुपर्ने बताए । ‘खेलाडी भोको हुनु भएन । जिम्मेवारी लिएपछि दायित्व पूरा गर्नुपर्छ,’ लामाले भने, ‘प्रधानमन्त्री र खेलकुदमन्त्रीलाई मेरो प्रश्न यही हो ।’

फिफाको निलम्बनले नेपाली फुटबलको अन्तर्राष्ट्रिय गतिविधि मात्रै प्रभावित नभई भविष्यका खेलाडी उत्पादन गर्ने आधारभूत संरचनामै असर पार्न थालेपछि यसको दीर्घकालीन प्रभावबारे पनि चिन्ता बढेको छ ।

Anfa-academy.jpg

सम्बन्धित समाचार