साउनको अन्तिम सोमबार बोलबम यात्रा, सुन्दरीजलमा भक्तजनको घुइँचो

1k Shares

काठमाडौं । सौरमासअनुसार साउनको अन्तिम सोमबारको बोलबम यात्राका लागि भक्तजन सुन्दरीजलमा भेला भएका छन् । आइतबार रातिदेखि नै सुन्दरीजलमा भक्तजनको उल्लेख्य भीड लागेको छ ।

प्रत्येक वर्ष साउन महिनाका सोमबार बागमती नदी किनारस्थित सुन्दरीजलमा भेला भएका भक्तजनले स्नान गरी शुद्ध कपडा लगाएर जल बोकी पशुपतिनाथ मन्दिरमा चढाउने परम्परा छ ।

यस वर्षको बोलबम यात्रा बोलबम काँरिया संघ, सनातन युवा मञ्च नेपाललगायत संस्थाको आयोजनामा भइरहेको हो । भक्तजन आइतबार राति नै सुन्दरीजल पुगेर स्नान तथा नित्यकर्म गरी जल लिएर पशुपतिनाथतर्फ प्रस्थान गर्ने गरेका छन् ।

प्रहरी प्रभाग सुन्दरीजलका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक नवीनविक्रम थापाका अनुसार बोलबम यात्रामा करिब १० हजारभन्दा बढी भक्तजन सहभागी भएका छन् ।

भक्तजनले राति १२ बजेसम्म भजनकीर्तन गर्ने र त्यसपछि स्नान गरी खाली गोडा सुन्दरीजलबाट पशुपतिनाथसम्म पैदल यात्रा गर्ने गर्छन् । उनीहरूले सुन्दरीजलबाट बोकेर ल्याएको जल आराध्यदेव भगवान् पशुपतिनाथलाई चढाउनेछन् ।

बोलबम यात्रीका लागि पशुपतिनाथ मन्दिरमा जल चढाउन उत्तरतर्फको ढोकाबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव तीर्थ श्रेष्ठका अनुसार भक्तजनले बासुकी हुँदै उत्तरढोकाबाट पशुपतिनाथमा जल चढाउने व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचार