काठमाडौं । साउनको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । पशुपतिनाथ क्षेत्रमा झमझम पानी परिरहे पनि शिवभक्तहरू छाता ओढ्दै तथा भिज्दै लामबद्ध भएर दर्शनका लागि मन्दिर प्रवेश गरिरहेका छन् ।
पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीका अनुसार पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ३ बजेदेखि खोलिएका छन् । बिहानैदेखि गौशाला, जयवागीश्वरी, मित्र उद्यान, चाबहिल, मैजुबहाल, चुच्चेपाटी, कुमारीगाल, बागमती करिडोर, गुह्येश्वरी, मृगस्थली, गौरीनगर र पिङ्गलास्थानलगायत क्षेत्रबाट भक्तजन पशुपतिनाथतर्फ जाने क्रम जारी छ ।
गौरीनगरसम्म भक्तजनको लाम लागेको छ । सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजनको समेत बिहानैदेखि भीड लागेको छ ।
भक्तजनलाई सहज, सुरक्षित र व्यवस्थित रूपमा दर्शन गराउन पशुपति क्षेत्र विकास कोषले विशेष व्यवस्थापन गरेको जनाएको छ । दर्शन व्यवस्थापनमा कोषका पदाधिकारी तथा कर्मचारीसँगै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौं महानगर प्रहरी तथा विभिन्न धार्मिक र सामाजिक संघसंस्थाका प्रतिनिधि परिचालित छन् ।
सवारी आवागमन व्यवस्थित गर्न गौशाला, जयवागीश्वरी, सिफल, मित्र उद्यान, चाबहिल र गौरीनगर क्षेत्रमा ट्राफिक प्रहरीको बाक्लो उपस्थिति छ ।
कोषका अनुसार मन्दिरका चारवटै ढोका बिहान ३ बजेदेखि खुलेका छन् भने बेलुकाको आरतीपछि राति ८ बजेसम्म खुला रहनेछन् । विशेष पूजा भने बिहान ८ः३० बजेदेखि मध्याह्न १२ बजेसम्म सञ्चालन हुनेछ ।
मन्दिर प्रवेशका लागि चारैतिरबाट छुट्टाछुट्टै लामको व्यवस्था गरिएको छ । बिहानैदेखि भक्तजनको उल्लेख्य उपस्थिति रहे पनि लाममा लामो समयसम्म बस्नुपर्ने अवस्था नरहेको कोषले जनाएको छ ।