स्की सङ्घको बजेट ३४ लाख ८० हजार, विन्टर ओलम्पिक्स तयारीलाई प्राथमिकता

1.4k Shares

काठमाडौँ । नेपाल स्की सङ्घको सातौँ साधारण सभा आइतबार सम्पन्न भएको छ । सङ्घका अध्यक्ष जीवनराम श्रेष्ठको सभापतित्वमा सम्पन्न बन्द सत्रले आर्थिक वर्ष २०८३/८४ का लागि ३४ लाख ८० हजार ८०० रुपैयाँको वार्षिक बजेट पारित गरेको छ ।

सङ्घले आगामी वर्ष राष्ट्रिय प्रतियोगिता आयोजना, अन्तर्राष्ट्रिय प्रतियोगिता तथा कार्यक्रममा सहभागिता, खेलाडी प्रशिक्षण र विन्टर ओलम्पिक्सको तयारीलाई प्राथमिकतामा राख्दै बजेट पारित गरेको हो ।

बन्द सत्रले सङ्घकी उपाध्यक्ष रमा भट्टराईले प्रस्तुत गरेको कार्ययोजना, महासचिव विजय श्रेष्ठले पेस गरेको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष जितेन्द्र श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनसमेत पारित गरेको छ ।

त्यस्तै, साधारण सभाले नयाँ लेखापरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ । सङ्घले बिआर पराजुली एन्ड एसोसिएट्सलाई लेखापरीक्षकका रूपमा चयन गरेको जनाएको छ । आगामी वर्ष नियमित साधारण सभा गर्ने निर्णयसमेत गरिएको छ ।

चुनौतीबीच स्की खेलको प्रवर्धन

साधारण सभामा भौतिक तथा भर्चुअल माध्यमबाट सङ्घका पदाधिकारी र सदस्यहरूको सहभागिता रहेको थियो । सङ्घको नयाँ विधानले भौतिक रूपमा उपस्थित हुन नसक्ने अवस्थामा भर्चुअल माध्यमबाट समेत साधारण सभामा सहभागी हुन सक्ने व्यवस्था गरेको छ ।

महासचिव विजय श्रेष्ठले नेपालमा स्की खेलको विकासका लागि भौगोलिक तथा अन्य विविध चुनौती रहे पनि सम्भव भएसम्म यस खेलको प्रवर्धनमा सङ्घले काम गरिरहेको बताउनुभयो ।

नेपालमा हिमाली भूगोल पर्याप्त भए पनि स्की खेलका लागि आवश्यक पूर्वाधार, नियमित प्रशिक्षण, उपकरण तथा अन्तर्राष्ट्रियस्तरको अभ्यासको अवसर सीमित रहेको अवस्थामा सङ्घले प्रतियोगिता र प्रशिक्षणलाई निरन्तरता दिने प्रयास गरिरहेको जनाएको छ ।

‘स्नोलाइन म्यागेजिन’ सार्वजनिक

साधारण सभाकै अवसरमा नेपाल स्की सङ्घले स्की खेलका गतिविधि तथा विभिन्न सामग्री समेटिएको ‘स्नोलाइन म्यागेजिन’को पहिलो अङ्क सार्वजनिक गरेको छ ।

म्यागेजिनमार्फत नेपालमा स्की खेलको अवस्था, सङ्घका गतिविधि तथा खेलको विकासका सम्भावनाबारे जानकारी प्रवाह गर्ने उद्देश्य राखिएको सङ्घले जनाएको छ ।

राष्ट्रिय प्रतियोगितादेखि अन्तर्राष्ट्रिय सहभागिता र विन्टर ओलम्पिक्सको तयारीसम्मका गतिविधिलाई आगामी वर्षको योजनामा समेटिएसँगै नेपालमा स्की खेललाई संस्थागत रूपमा अघि बढाउने सङ्घको प्रयास देखिएको छ ।

सम्बन्धित समाचार