असोज २३ देखि नेपाल फिनटेक एक्स्पो, ६५ भन्दा बढी स्टल रहने

1.5k Shares

काठमाडौं । फिनटेक एलायन्स नेपाल (फ्यान) को आयोजनामा आगामी असोज २३ देखि २५ गतेसम्म ‘नेपाल फिनटेक एक्स्पो २०२६’ आयोजना हुने भएको छ। ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने एक्स्पो तीन दिन सञ्चालन हुनेछ।

आयोजकका अनुसार एक्स्पोमा ६५ भन्दा बढी प्रदर्शनी कक्ष तथा दुईवटा विशेष ‘एक्सपेरियन्स जोन’ रहनेछन्। कार्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल बैंकिङ, डिजिटल भुक्तानी, इम्बेडेड फाइनान्स तथा लेन्डिङ टेक्नोलोजीलगायत आधुनिक वित्तीय प्रविधि प्रस्तुत गरिनेछ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूले आफ्ना नयाँ प्रविधि र उत्पादन सार्वजनिक तथा प्रदर्शन गर्ने कार्यक्रमसमेत एक्स्पोमा राखिएको छ। आयोजकले ६ हजारभन्दा बढी दर्शकले एक्स्पो अवलोकन गर्ने अपेक्षा गरेको छ। बैंक तथा वित्तीय संस्था, नियामक निकाय, लगानीकर्ता र प्रविधि क्षेत्रमा काम गर्ने स्टार्टअपहरूको सहभागिता रहने जनाइएको छ।

एक्स्पोमा व्यापारिक साझेदारी र व्यावसायिक सञ्जाल विस्तारलाई समेत प्राथमिकता दिइएको छ। पहिलो दिन विशेष ‘नेटवर्किङ डिनर’ आयोजना गरिनेछ भने यसपटक पहिलोपटक ‘प्रिमियम लाउन्ज’को व्यवस्था गरिएको छ।

दर्शकका लागि साधारण टिकट २०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ। टिकट बिक्रीका लागि ‘खल्ती’लाई आधिकारिक टिकटिङ साझेदार बनाइएको आयोजकले जनाएको छ।

आयोजकले नेपालमा तीव्र रूपमा विस्तार भइरहेको डिजिटल वित्तीय प्रणाली, प्रविधि र नवप्रवर्तनलाई एउटै मञ्चमा ल्याउँदै फिनटेक क्षेत्रमा लगानी, सहकार्य र नयाँ व्यवसायिक अवसर विस्तार गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागेको जनाएको छ।

सम्बन्धित समाचार