२४ वर्षदेखि बन्द हेटौंडा कपडा उद्योगका तान फेरि चले
1.7k
Shares
काठमाडौं । लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगमा कपडा बुन्ने पुराना तान (लुम) फेरि चल्न थालेका छन्। पुराना मेसिन मर्मत गरेपछि शनिबार उद्योगमा सफल परीक्षण उत्पादन सुरु गरिएको हो।
प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारका अनुसार नेपाली सेनाको नेतृत्वमा उद्योगभित्र रहेका पुराना मेसिन तथा तानको मर्मतसम्भार गरी परीक्षण उत्पादन सुरु गरिएको हो। लामो समयदेखि थन्किएका मेसिन सञ्चालनमा आएपछि उद्योग परिसरमा फेरि कपडा बुन्ने तानको आवाज सुनिन थालेको उनले सामाजिक सञ्जालमार्फत बताएका छन्।
हेटौंडा कपडा उद्योग चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०३२ सालमा स्थापना भएको थियो। २०३५ सालदेखि व्यावसायिक उत्पादन थालेको उद्योग लामो समय सञ्चालनमा रहन नसकेपछि २०५७ सालदेखि बन्द अवस्थामा छ।
उद्योग लामो समय बन्द रहेकाले मेसिन, विद्युत् प्रणाली तथा भौतिक संरचना जीर्ण अवस्थामा पुगेका थिए। पछिल्लो समय नेपाली सेनाको प्राविधिक टोलीले उद्योग परिसरको सरसफाइ, विद्युत् प्रणाली मर्मत र मेसिनको परीक्षण गर्दै आएको थियो।
सरकारले गत असार १८ गते हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि परीक्षण उत्पादनको काम अघि बढेको हो। उद्योगमन्त्री गौरीकुमारी यादवले हेटौंडा कपडा उद्योगलाई प्राथमिकतामा राखेर सञ्चालनमा ल्याउने तथा बुटवल धागो कारखाना र कपास खेतीलाई समेत अघि बढाउने बताएकी थिइन्।
यसअघि पनि उद्योग पुनः सञ्चालनका लागि पटक–पटक अध्ययन र घोषणा भएका थिए। २०७३ र २०७५ सालमा समेत विस्तृत अध्ययन गरिएको थियो भने आर्थिक वर्ष २०८१/८२ को बजेटमा सार्वजनिक–निजी साझेदारीमार्फत उद्योग सञ्चालन गर्ने घोषणा गरिएको थियो।
अबको चुनौती सञ्चालनलाई दिगो बनाउनु
परीक्षण उत्पादन सफल हुनु उद्योग पुनः सञ्चालनको महत्वपूर्ण सुरुवात भए पनि पूर्ण क्षमतामा दिगो सञ्चालन भने अझै चुनौतीपूर्ण देखिन्छ। पुराना मेसिन र प्रविधि, उत्पादन लागत तथा निजी क्षेत्रसँगको प्रतिस्पर्धा मुख्य चुनौती हुन्।
दीर्घकालीन रूपमा उद्योगलाई प्रतिस्पर्धी बनाउन नयाँ प्रविधि र मेसिनमा लगानी, कच्चा पदार्थको नियमित आपूर्ति तथा स्पष्ट सञ्चालन मोडालिटी आवश्यक पर्ने देखिन्छ। त्यसैले वर्षौंदेखि बन्द रहेको उद्योगका तान फेरि चल्नु सकारात्मक सुरुवात भए पनि यसको वास्तविक सफलता नियमित उत्पादन र आर्थिक रूपमा दिगो सञ्चालनमा निर्भर हुनेछ।