चितवनको क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनको तयारी, चीनले लगानी गर्ने

1.4k Shares

चितवन । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक बोनम्यारो (रक्तमासी) प्रत्यारोपण सेवा सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सेवा विस्तारको प्रक्रिया अघि बढाइएको अस्पतालले जनाएको छ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालका अनुसार करिब सात महिनाअघि प्रारम्भिक अध्ययन सुरु भएको थियो। केही दिनअघि चीनबाट आएको प्राविधिक टोलीले अस्पतालमा दुई सातासम्म बसेर अन्तिम प्राविधिक सर्वेक्षण, पूर्वाधारको मूल्याङ्कन तथा आवश्यक व्यवस्थापनबारे अध्ययन सम्पन्न गरेको छ।

टोलीले भरतपुर महानगरपालिका, सहरी विकास तथा भवन निर्माण आयोजना र नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्राविधिकसँग समेत समन्वय गरी आवश्यक सुझाव सङ्कलन गरेको थियो।

बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि अस्पतालको अन्तरङ्ग सेवा भवनअगाडि तीनतले नयाँ भवन निर्माण गरिने योजना रहेको छ। अत्याधुनिक सेवा सञ्चालनका लागि छुट्टै भवन आवश्यक पर्ने भएकाले नयाँ संरचना निर्माण गर्न लागिएको अस्पतालले जनाएको छ।

परियोजनाअन्तर्गत चीन सरकारले करिब ३७ मिलियन चिनियाँ युआन (करिब ८४ करोड रुपैयाँ) लगानी गर्नेछ। चिनियाँ पक्षले सन् २०२६ भित्रै भवन निर्माण सुरु गर्ने लक्ष्य राखेको छ। भवन निर्माणका लागि आवश्यक माटो परीक्षणलगायत प्रारम्भिक तयारी पूरा भइसकेको अस्पतालले जनाएको छ।

सेवा सञ्चालनका लागि दक्ष जनशक्ति तयार पार्ने काम पनि सँगसँगै अघि बढाइएको छ। हाल अस्पतालका तीन जना चिकित्सक तथा नर्स चीनमा विशेष तालिम लिइरहेका छन्।

यसअघि तीन जना स्वास्थ्यकर्मीले छ महिनाको र पाँच जनाले दुई साताको विशेष तालिम पूरा गरिसकेका छन्। आगामी दिनमा आवश्यक थप जनशक्तिलाई पनि चीन सरकारकै सहयोगमा तालिम प्रदान गरिने जनाइएको छ।

वि.सं. २०५१ मा चीन सरकारको सहयोगमा स्थापना भएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हाल पनि चिनियाँ चिकित्सकको सहभागितामा विभिन्न क्यान्सर उपचार सेवा सञ्चालन हुँदै आएको छ।

बोनम्यारो प्रत्यारोपण सेवा सुरु भएपछि नेपालमै जटिल रक्तसम्बन्धी क्यान्सरका बिरामीले सहज र आधुनिक उपचार पाउने अपेक्षा गरिएको छ।

 
 
सम्बन्धित समाचार