बढी मूल्यमा सामान बिक्री गर्ने एभरेष्ट मार्टलाई दुई लाख रुपैयाँ जरिवाना
1.4k
Shares
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएकोभन्दा बढी मूल्यमा वस्तु बिक्री गरेको पाइएपछि काठमाडौं महानगरपालिका–१७, ठहिटीस्थित एभरेष्ट मार्ट स्टोर प्रालिलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ।
विभागले स्थलगत बजार अनुगमनका क्रममा स्टोरले उपभोक्ताबाट निर्धारित मूल्यभन्दा बढी रकम असुलेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गर्दै दुई लाख रुपैयाँ जरिवाना गरेको जनाएको छ।
त्यसैगरी, गृष्मा इन्टरप्राइजेजलाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। विभागले उक्त फर्मलाई साउन १ गतेदेखि हालसम्मको खाना पकाउने ग्यासको बिक्री–वितरण विवरण तथा खरिद–बिक्रीसम्बन्धी बिलसहित तीन दिनभित्र उपस्थित हुन भनेको छ।
अनुगमनका क्रममा अन्य केही व्यावसायिक फर्मलाई भने आवश्यक सुधार गर्न निर्देशन दिइएको विभागले जनाएको छ। स्थानीय उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा नियमित बजार अनुगमनलाई निरन्तरता दिइएको पनि विभागको भनाइ छ।
पछिल्ला दिनमा खाना पकाउने ग्यासको आपूर्ति तथा बिक्री–वितरणमा देखिएका समस्या समाधान गर्न बजार अनुगमन र निरीक्षणलाई थप प्रभावकारी बनाइएको विभागले जनाएको छ।
विभागका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ अनुसार अनुगमनका क्रममा आवश्यक निर्देशन, सुधारात्मक कदम र कानुनी कारबाही गरिँदै आएको छ।