केयू उपकुलपति छनोट पारदर्शी बनाउन डा. गोविन्द केसीको माग

1.8k Shares

काठमाडौं । प्रा. डा. गोविन्द केसी ले काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपति छनोट प्रक्रिया पारदर्शी, निष्पक्ष र स्वार्थरहित बनाउन माग गर्दै निहित स्वार्थका आधारमा गरिने नियुक्तिको कडा विरोध गर्ने चेतावनी दिएका छन्।

दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङ्ग्रुमा सञ्चालन भइरहेको निःशुल्क स्वास्थ्य शिविरबाट शुक्रबार जारी विज्ञप्तिमा डा. केसीले काठमाडौं विश्वविद्यालयका प्राज्ञिक समूहले उपकुलपति छनोट प्रक्रिया पारदर्शी र निष्पक्ष नभएको भन्दै बहिष्कार गरेको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

उनले नेपालको उच्च शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएको काठमाडौं विश्वविद्यालयको नेतृत्व छनोटमा कुनै व्यक्ति वा समूहको निहित स्वार्थ हाबी हुन नहुने बताएका छन्। चिकित्सा शिक्षा आयोग, विश्वविद्यालय, प्रतिष्ठान तथा अन्य सार्वजनिक स्वास्थ्य र शैक्षिक संस्थाहरूमा योग्य, अनुभवी र दक्ष व्यक्तिको सट्टा राजनीतिक दल वा निजी क्षेत्रसँग आबद्ध तथा स्वार्थ बाझिने व्यक्तिलाई पदाधिकारी नियुक्त गरिए त्यसको सशक्त प्रतिवाद गरिने चेतावनी उनले दिएका छन्।

विज्ञप्तिमार्फत डा. केसीले शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय तथा समतामूलक पहुँच सुनिश्चित गर्न सुरु गरिएको २४औँ सत्याग्रहका क्रममा गत साउन ११ गते सरकारसँग भएका सहमतिहरू अक्षरशः कार्यान्वयन गर्न पनि सरकारसँग माग गरेका छन्।

उनले सरकारले सहमतिका बुँदाहरू कार्यान्वयन नगरे, निजी मेडिकल कलेजहरूमा हुने श्रम शोषण, ठगी, आर्थिक अनियमितता तथा अपराधको छानबिन गरी कारबाही नगरे वा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता घटाए स्थगित गरिएको २४औँ सत्याग्रहसहित सशक्त आन्दोलन पुनः सुरु गर्न बाध्य हुने चेतावनी दिएका छन्।

सम्बन्धित समाचार