सीमा नाकामा सशस्त्र प्रहरीको कडाइ, कपिलवस्तुबाट करिब १० लाखका अवैध मोटर पार्टस् बरामद

1.3k Shares

सशस्त्र प्रहरी बलले कपिलवस्तुको कृष्णनगर नगरपालिका–३ चैपुरवा क्षेत्रबाट भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएका करिब १० लाख रुपैयाँ बराबरका मोटर पार्टस् बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर २८ गण मुख्यालय कपिलवस्तुका अनुसार विशेष निगरानी तथा सूचनाका आधारमा सञ्चालन गरिएको अभियानका क्रममा ९ लाख ८२ हजार ६७४ रुपैयाँ बराबरका विभिन्न मोटर पार्टस् नियन्त्रणमा लिइएको हो।

बरामद गरिएका सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको गणपति सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले जानकारी दिए। उनका अनुसार नेपाल–भारत सीमा क्षेत्रमा भन्सार छली, चोरी पैठारी तथा अवैध कारोबार नियन्त्रण गर्न सशस्त्र प्रहरीले नियमित गस्ती र विशेष अभियानलाई तीव्र बनाएको छ।

"सीमा क्षेत्रको सुरक्षा सुदृढ बनाउने, अवैध सामानको ओसारपसार रोक्ने र राजस्व संरक्षणमा सहयोग पुर्‍याउने उद्देश्यले सीमा नाकामा विशेष अभियान सञ्चालन गरिएको हो," अधिकारीले बताए।

सशस्त्र प्रहरीका अनुसार पछिल्लो दुई महिनामा मात्रै कृष्णनगर नाका हुँदै भन्सार छली गरी ल्याइएका करिब एक करोड रुपैयाँ बराबरका विभिन्न सामान नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइसकिएको छ।

सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म कृष्णनगरका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक यज्ञमान साउदका अनुसार नियन्त्रणमा लिइएका सामानमा मोटर पार्टस्, इलेक्ट्रोनिक सामग्री, औषधि, लत्ताकपडा, कस्मेटिक सामग्री, सुर्तीजन्य पदार्थ, हार्डवेयरका सामान, खाद्यान्न तथा अन्य उपभोग्य वस्तु रहेका छन्।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा अवैध चोरी पैठारी नियन्त्रणलाई थप प्रभावकारी बनाउन निगरानी र सुरक्षा अभियानलाई निरन्तरता दिने जनाएको छ।

सम्बन्धित समाचार