भूमि व्यवस्थापन तथा अभिलेख विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्ने फर्म, कम्पनी तथा संस्थालाई अनिवार्य रूपमा इजाजतपत्र लिन आग्रह गरेको छ।
विभागले सार्वजनिक सूचना जारी गर्दै नेपाल सरकारको राजपत्रमा प्रकाशित व्यवस्थाअनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा एक पटकमा तीन करोड रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थाले इजाजतपत्र लिनुपर्ने जनाएको हो। यसका लागि सम्बन्धित संस्थाले २१ दिनभित्र विभागको अनलाइन प्रणालीमार्फत आवेदन दिनुपर्नेछ।
विभागका अनुसार कारोबारको रकमका आधारमा इजाजतपत्र दस्तुर पनि निर्धारण गरिएको छ। एक पटकमा पाँच करोड रुपैयाँसम्मको कारोबार गर्ने फर्म, कम्पनी वा संस्थाले पाँच लाख रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ भने पाँच करोड रुपैयाँभन्दा बढीको कारोबार गर्नेले दश लाख रुपैयाँ दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ।
यसअघि विभागको सूचनाअनुसार अनलाइन आवेदन दिएका तर २०८३ असार मसान्तसम्म इजाजतपत्र प्राप्त नगरेका फर्म, कम्पनी तथा संस्थाले समेत नयाँ सूचनाअनुसार पुनः अनलाइन आवेदन दिनुपर्ने विभागले स्पष्ट पारेको छ।
विभागले आवेदनसँगै अनलाइनमा अपलोड गरिएका कागजातको एक–एक प्रति प्रिन्ट गरी विभागमा बुझाउनुपर्ने जनाएको छ। साथै, आवेदन दर्तापछि सम्बन्धित कम्पनी वा संस्थाका सञ्चालक सदस्यहरूले नेपाल प्रहरीको केन्द्रीय अपराध सूचना अभिलेखालयको अभिलेखका आधारमा आपराधिक गतिविधिमा संलग्न नरहेको व्यहोराको पत्र समेत पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
इजाजतपत्र सम्बन्धी थप जानकारी आवश्यक परे विभागमा सम्पर्क गर्न विभागले सम्बन्धित फर्म, कम्पनी तथा संस्थालाई अनुरोध गरेको छ।