नारायणी नदी सतर्कता तह पार, चितवनमा सुरक्षा निकाय सक्रिय

1.1k Shares

मुहान क्षेत्रमा लगातार भइरहेको वर्षाका कारण नारायणी नदीको जलसतह सतर्कता तह पार गरेपछि चितवनका तटीय क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। प्रहरीले नदी किनारका बासिन्दालाई माइकिङ गर्दै सुरक्षित रहन र अनावश्यक रूपमा नदी आसपास नजान आग्रह गरेको छ।

चितवनमा वर्षा नभए पनि नारायणी नदीको माथिल्लो जलाधार क्षेत्रमा परेको अविरल वर्षाका कारण नदीको बहाव एक्कासि बढेको हो। जलसतह थप बढ्न सक्ने अनुमानसँगै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकाय उच्च सतर्क अवस्थामा रहेका छन्।

बाढी पूर्वानुमान महाशाखाले साउन २३ गतेसम्म नारायणी नदीको जलसतह अझै बढ्न सक्ने प्रक्षेपण गर्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै वडा प्रहरी कार्यालय नारायणगढ र जिल्ला प्रहरी कार्यालय चितवनका सुरक्षाकर्मी बुधबार बिहानदेखि नदी आसपासका क्षेत्रमा परिचालित भएका छन्। प्रहरीले माइकिङमार्फत नदी किनारमा नजान, अनावश्यक आवतजावत नगर्न तथा आवश्यक परे सुरक्षित स्थानमा सर्न अनुरोध गरिरहेको छ।

नदी किनारमा सञ्चालन हुँदै आएका ठेला तथा अन्य अस्थायी व्यवसायलाई पनि सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले नदीको जलसतह थप बढ्न सक्ने सम्भावना रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र बाढीसम्बन्धी आधिकारिक सूचना तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ।

सम्बन्धित समाचार