गौडेपुलमा सुक्खा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध

1.6k Shares

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तानसेन–बुटवल सडक खण्डको गौडेपुल क्षेत्रमा सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि सयौँ सवारीसाधन बीच बाटोमै रोकिएका छन् भने यात्रुहरू गन्तव्यमा पुग्न सकेका छैनन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार बिहीबार बिहान करिब ११ः३० बजे तानसेन–८ स्थित गौडेपुलनजिकै माथिबाट ठूलो परिमाणमा गेग्रानसहितको सुक्खा पहिरो खसेपछि यातायात पूर्ण रूपमा ठप्प भएको हो।

सडक डिभिजन कार्यालय पाल्पाले पहिरो पन्छाएर यातायात सञ्चालन गर्ने तयारी गरे पनि प्रयोगमा ल्याइएको डोजरको टायर पञ्चर भएपछि काम तत्काल सुरु हुन नसकेको जनाएको छ। सूचना अधिकारी महेश्वर लम्सालका अनुसार अर्को डोजर घटनास्थलमा ल्याइँदै छ र त्यसपछि पहिरो हटाउने काम अघि बढाइनेछ।

प्रहरी र सडक डिभिजन कार्यालयले सडक खुलाउन आवश्यक समन्वय भइरहेको जनाएको छ। सडक बन्द भएपछि बुटवल–पाल्पा हुँदै गुल्मी, अर्घाखाँची, स्याङ्जा तथा पोखरातर्फ जाने र आउने सवारीसाधन लामो लाइनमा रोकिएका छन्।

गौडेपुल क्षेत्र हरेक वर्ष सुक्खा पहिरोको उच्च जोखिममा पर्ने स्थानका रूपमा परिचित छ। तानसेन–८ को भीरबाट वर्षेनी गेग्रानसहितको पहिरो झर्ने गरेकाले यातायात प्रभावित हुने गरेको छ। सडक डिभिजन कार्यालयका अनुसार पहिरो नियन्त्रणका लागि विभिन्न प्रयास गरिए पनि राजमार्गभन्दा करिब दुई मिटर माथिबाट पहिरो झर्ने भएकाले दीर्घकालीन व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।

सरोकारवाला निकायले यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन तथा सडक सञ्चालनबारे आधिकारिक जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेका छन्।

सम्बन्धित समाचार