जिल्ला प्रहरी कार्यालय धादिङले कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो पटक पहिलो स्थान हासिल गर्दै उत्कृष्ट प्रहरी कार्यालयको पहिचान कायम राखेको छ।
नेपाल प्रहरी प्रधान कार्यालयले असार महिनाको कार्यसम्पादन मूल्याङ्कन सार्वजनिक गर्दै प्रहरी उपरीक्षक (एसपी) नेतृत्वमा रहेका देशभरका १५ पहाडी जिल्ला प्रहरी कार्यालयमध्ये धादिङलाई सर्वोत्कृष्ट घोषणा गरेको हो।
मूल्याङ्कनमा प्रशासनिक सुधार, कार्यालय अभिलेख व्यवस्थापन, अपराध रोकथाम तथा न्यूनीकरण, आपराधिक घटनाको अनुसन्धान, फरार प्रतिवादी पक्राउ, अवैध हातहतियार बरामद, लागूऔषध नियन्त्रण, भन्सार तथा राजस्व छलीका सामान बरामद, पुराना मुद्दाको अनुसन्धान तथा फैसला कार्यान्वयनलगायतका सूचकमा धादिङ प्रहरीले उत्कृष्ट प्रदर्शन गरेको उल्लेख गरिएको छ।
त्यसैगरी राजमार्ग सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण अभियान, प्रहरी परिचालन, उजुरी तथा गुनासो व्यवस्थापन, प्रहरी कर्मचारीको गुनासो सुनुवाइ, अनुशासन कायम, शान्ति सुरक्षाका लागि सरोकारवाला निकायसँगको समन्वय तथा विपद् व्यवस्थापनमा पनि धादिङ प्रहरीको कार्यसम्पादन प्रभावकारी रहेको मूल्याङ्कनले देखाएको छ।
सीमित स्रोत–साधनका बाबजुद जिल्ला प्रहरी कार्यालय धादिङले अपराध नियन्त्रण, जनमुखी सेवा प्रवाह र प्रभावकारी सुरक्षा व्यवस्थापनमा उल्लेखनीय सफलता हासिल गरेको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालयहरूमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै, स्थानीय तहसँगको सहकार्यमा सामाजिक विकृति तथा विसङ्गतिविरुद्ध विभिन्न अभियान सञ्चालन गरी अपराध न्यूनीकरणमा सक्रिय भूमिका निर्वाह गरिरहेको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो।
यस उपलब्धिप्रति धादिङका प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठले जिल्ला प्रहरी कार्यालयको सम्पूर्ण टोली र नेतृत्वलाई बधाई तथा धन्यवाद दिएका छन्। उनले धादिङ प्रहरीले देखाएको कार्यकुशलता, लगनशीलता र जिम्मेवारीप्रतिको प्रतिबद्धता प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै उत्कृष्ट सेवा प्रवाह हुने विश्वास व्यक्त गरेका छन्।