देशभर खाना पकाउने एलपी ग्यासको अभाव चुलिएपछि सरकारले गुनासो सुनुवाइ र बजार अनुगमनलाई तीव्र बनाएको छ। कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेविरुद्ध कारबाहीका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सर्वसाधारणलाई सिधै सूचना दिन आग्रह गरेको छ।
उद्योगमन्त्री गौरीकुमारी यादवको सचिवालयले बुधबार सूचना जारी गर्दै बजारमा ग्यास नपाएको, कृत्रिम अभाव सिर्जना गरिएको वा आपूर्तिमा कुनै अनियमितता देखिए तत्काल जानकारी गराउन उपभोक्तासँग अपिल गरेको हो।
मन्त्रालयका अनुसार उपभोक्ताले मोबाइल नम्बर ९८५१११६७७३ मा सम्पर्क गरी ग्यास आपूर्ति, कालोबजारी वा अन्य समस्याबारे उजुरी गर्न सक्नेछन्। प्राप्त गुनासोलाई गम्भीर रूपमा लिएर सम्बन्धित निकायसँग समन्वय गरी तत्काल आवश्यक कदम चालिने मन्त्रालयले जनाएको छ।
पछिल्ला करिब २० दिनदेखि एलपी ग्यासको आपूर्ति असहज बनेपछि देशका विभिन्न स्थानमा उपभोक्ता घण्टौं लाइनमा बस्न बाध्य भएका छन्। धेरै स्थानमा ग्यास डिपोमा लामो लाइन लागे पनि खाली सिलिन्डर लिएर फर्किनुपर्ने अवस्था देखिएको छ।
यही अवस्थाको फाइदा उठाउँदै केही व्यवसायीले कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा ग्यास बिक्री गरेको गुनासो बढेपछि मन्त्रालयले उपभोक्ताबाट प्रत्यक्ष सूचना संकलन गर्ने व्यवस्था गरेको हो।
मन्त्रालयले बजारमा सहज आपूर्ति कायम गर्न अनुगमनलाई थप प्रभावकारी बनाइने र कालोबजारी तथा आपूर्ति अवरोधमा संलग्नमाथि कानुनअनुसार कारबाही गरिने जनाएको छ।