दाङमा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा खेती सम्पन्न

918 Shares

दाङ जिल्लामा यस वर्ष धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९४ प्रतिशत जमिनमा धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

जिल्लामा कुल ७४ हजार ३३६ हेक्टर खेतीयोग्य जमिन रहे पनि करिब आधा क्षेत्रमा धान खेती सम्भव छैन। यस वर्ष ३७ हजार २२५ हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य रहेकामा हालसम्म ३४ हजार ९९१ हेक्टर जमिनमा रोपाइँ सम्पन्न भइसकेको छ।

कृषि ज्ञान केन्द्र दाङका वरिष्ठ कृषिप्रसार अधिकृत आशा भण्डारीका अनुसार देउखुरी उपत्यकाका लमही नगरपालिका, राप्ती, गढवा र राजपुर गाउँपालिकामा पर्याप्त सिँचाइ सुविधा भएकाले धान खेती सहज भएको छ।

जिल्लामध्ये घोराही उपमहानगरपालिकामा सबैभन्दा धेरै ८ हजार ९७ हेक्टर क्षेत्रमा धान खेती गरिन्छ। त्यसपछि तुलसीपुर उपमहानगरपालिकामा ६ हजार ७९५ हेक्टर, दङ्गीशरण गाउँपालिकामा ३ हजार ४१२ हेक्टर, गढवा गाउँपालिकामा ३ हजार २८० हेक्टर तथा लमही नगरपालिकामा ३ हजार २५० हेक्टर क्षेत्रफलमा धान खेती भइरहेको छ।

यस्तै, राप्ती गाउँपालिकामा ३ हजार २४५ हेक्टर, राजपुर गाउँपालिकामा ३ हजार १०३ हेक्टर, शान्तिनगर गाउँपालिकामा २ हजार ७५० हेक्टर, बबई गाउँपालिकामा २ हजार १५० हेक्टर र बङगलाचुली गाउँपालिकामा १ हजार १४३ हेक्टर क्षेत्रमा धान खेती हुँदै आएको छ।

दाङका किसानले सावित्री, मनसुली, राधा–४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ र युएस–३१२ लगायतका उन्नत तथा वर्णशङ्कर जातका धान रोप्दै आएका छन्। कम पानी उपलब्ध हुने क्षेत्रमा सुक्खा–१, सुक्खा–२ र सुक्खा–३ जातका धानको खेती गरिएको छ। यसका साथै स्थानीय तिल्की र सिम्ठारो जातका धान पनि केही किसानले उत्पादन गरिरहेका छन्।

गत वर्ष दाङमा ३५ हजार ३२८ हेक्टर क्षेत्रफलबाट एक लाख ४४ हजार २६४ मेट्रिक टन धान उत्पादन भएको थियो। यस वर्ष पनि समयमै मनसुन सक्रिय रहेकाले उत्पादन उत्साहजनक हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार