सन् २०२७ को एकदिवसीय विश्वकप अक्टोबर ४ देखि, नेपाललाई प्लेअफबाट छनोटको चुनौती

3.1k Shares

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटको मिति सार्वजनिक गरेको छ। आइसिसीका अनुसार प्रतियोगिता सन् २०२७ को अक्टोबर ४ देखि नोभेम्बर २१ सम्म दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा संयुक्त रूपमा आयोजना हुनेछ। विश्वकप छनोट प्रतियोगिता भने सन् २०२७ को फेब्रुअरी २२ देखि मार्च २३ भित्र सम्पन्न गरिसक्नुपर्ने आइसिसीले जनाएको छ।

यसपटक आइसिसीले विश्वकप छनोट प्रणालीमा पनि परिवर्तन गरेको छ। छनोट प्रतियोगितामा १० टोली सहभागी हुनेछन्। छनोट प्रतियोगिताको विजेता टोली सिधै १४ टोली सहभागी हुने विश्वकपको मुख्य प्रतियोगितामा पुग्नेछ।

त्यस्तै, छनोट प्रतियोगितामा दोस्रोदेखि चौथो स्थानमा रहने टोलीले सुपर सिरिजको पहिलो चरण खेल्नुपर्नेछ। यस चरणको शीर्ष टोलीले पनि विश्वकपमा स्थान बनाउनेछ।

आइसिसीका अनुसार छनोट प्रक्रियामा दक्षिण अफ्रिका र जिम्बाब्वेबाहेक एकदिवसीय वरीयताका अन्य योग्य टोली, आइसिसी क्रिकेट विश्वकप लिग–२बाट छनोट हुने चार टोली तथा प्लेअफबाट आउने चार टोलीले विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछन्।

नेपालका लागि भने लिग–२ को शीर्ष स्थानमा रहँदै प्रत्यक्ष विश्वकप छनोट हुने सम्भावना समाप्त भइसकेको छ। अब नेपालले प्लेअफमार्फत विश्वकप छनोट गर्ने लक्ष्य राख्नुपर्ने अवस्था छ।

हाल लिग–२ मा सहभागी आठ टोलीमध्ये नेपाल ३२ खेलबाट २४ अंकसहित छैटौँ स्थानमा रहेको छ। प्रत्येक टोलीले ३६ खेल पूरा गरेपछि शीर्ष चार टोली विश्वकप ग्लोबल क्वालिफायरमा पुग्ने व्यवस्था छ।

नेपालका लागि अर्को महत्वपूर्ण चुनौती एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनु पनि हो। त्यसका लागि लिग–२ मा कम्तीमा शीर्ष ६ स्थानमा रहनुपर्नेछ।

नेपालले यसअघि तीन पटक टी–२० विश्वकप खेले पनि हालसम्म एकदिवसीय विश्वकपमा स्थान बनाउन सकेको छैन। अब २०२७ विश्वकप खेल्ने सपना पूरा गर्न नेपालले बाँकी लिग–२ खेल र सम्भावित प्लेअफमा उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ।

सम्बन्धित समाचार