सात वर्षको सास्तीपछि सहज बन्यो नारायणगढ–बुटवल यात्रा, अब दुई घण्टामै पुग्न सकिने

1k Shares

काठमाडौं । झण्डै सात वर्षसम्म निर्माणका कारण यात्रुलाई सास्ती दिएको नारायणगढ–बुटवल सडकखण्ड अहिले सहज बन्दै गएको छ। सडक विस्तारको अधिकांश काम सम्पन्न भएसँगै नारायणगढदेखि बुटवल पुग्न अहिले सामान्यतया दुई घण्टा मात्रै लाग्ने गरेको छ। निजी सवारीसाधनले भने यो दूरी एक घण्टा ३० मिनेटदेखि एक घण्टा ५० मिनेटमै पार गर्न थालेका छन्।

गत वर्ष वर्षायाम र चाडपर्वका बेला दाउन्ने क्षेत्रमा हुने लामो जामका कारण यात्रुहरूले रात नै सडकमा बिताउनुपर्ने अवस्था थियो। कतिपय यात्रु त घर पुग्नै नसक्ने समस्यामा परेका थिए। अहिले भने सडक फराकिलो र सहज बनेपछि यात्रुहरूलाई ठूलो राहत मिलेको छ।

ग्यास उद्योगी विमल कालाखेतीले गत साता बुटवलबाट नारायणगढ एक घण्टा ३० मिनेटमै पुगेको अनुभव सुनाउँदै अहिले सडकमा कुनै अवरोध नरहेको बताए।

रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ का उद्योगी प्रकाश आचार्यले परिवारसहित निजी सवारीमा नारायणगढबाट घर पुग्न एक घण्टा ५० मिनेट मात्रै लागेको बताए। विगत सम्झँदै उनले एकपटक साँझ ६ बजे नारायणगढबाट हिँडेर अर्को दिन बिहान १० बजे मात्रै घर पुगेको अनुभव सुनाए। अहिलेको सडक गुणस्तरीय र फराकिलो बनेपछि पुराना सबै दुःख बिर्सिएको उनको भनाइ छ।

सञ्चारकर्मी प्रकाश ज्ञवालीले पनि बुधबार बुटवलबाट नारायणगढ दुई घण्टामा यात्रा पूरा गरेको बताए। उनले विगतमा यही सडक पार गर्न १२ घण्टाभन्दा बढी समय लागेको अनुभव सुनाउँदै सात वर्षसम्म यात्रुले निकै कष्ट भोग्नुपरेको उल्लेख गरे।

भरतपुरका एक कर्मचारीले निजी गाडीमा नारायणगढबाट बुटवलको चौराहा चोक एक घण्टा ४४ मिनेटमा पुगेको बताए। सडक बिग्रिएका बेला यात्रुहरूले पोखरा वा कालीगण्डकी करिडोर हुँदै वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने, कतिपयले भैरहवाबाट हवाईमार्ग हुँदै काठमाडौं आएर चितवन पुग्नुपर्ने अवस्था समेत रहेको थियो।

चौतारी यातायात सेवा प्रालिका अध्यक्ष भुवन बरालका अनुसार पहिले रातभर जाममा बस्नुपर्ने यो सडकमा अहिले यात्रु चढाउँदै–ओराल्दै जाँदा पनि बसले तीन घण्टाभित्र यात्रा पूरा गर्न थालेका छन्। सडक बिग्रँदा दैनिक सवारीसाधन मर्मत गर्नुपर्ने समस्या अहिले हटेको उनले बताए।

नारायणगढ–बुटवल सडक आयोजना पूर्वी खण्डका इञ्जिनियर शिव खनालका अनुसार आयोजनाको करिब ९२ प्रतिशत काम सम्पन्न भइसकेको छ। अहिले सडक सुरक्षासम्बन्धी संरचना र केही स्थानमा नाली निर्माणको काम मात्रै बाँकी रहेको उनले जानकारी दिए।

११३.३५ किलोमिटर लामो नारायणगढ–बुटवल सडकलाई पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरेर निर्माण भइरहेको छ। करिब १६ अर्ब ९९ करोड रुपैयाँ लागतको यस आयोजनामा एसियाली विकास बैंक (एडीबी) को ८५ प्रतिशत सहुलियतपूर्ण ऋण र नेपाल सरकारको १५ प्रतिशत लगानी रहेको छ।

चिनियाँ सरकारी कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको यो आयोजना २०७५ साल चैत ८ गतेदेखि सुरु भएको थियो। सुरुमा ४२ महिनाभित्र काम सक्ने लक्ष्य राखिए पनि विभिन्न कारणले पटक–पटक म्याद थपिएको थियो।

सडक विस्तारअन्तर्गत नारायणगढ–बुटवल सडकलाई दुई लेनबाट चार लेनमा स्तरोन्नति गरिएको छ भने बजार क्षेत्रका करिब २८ किलोमिटर सडकलाई छ लेनमा विस्तार गरिएको छ। निर्माणको अन्तिम चरणमा पुगेको यस आयोजनाले पूर्व–पश्चिम राजमार्गमा यात्रा गर्ने हजारौँ यात्रुलाई ठूलो राहत दिएको छ।

सम्बन्धित समाचार