काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरण र संरचनागत सुधारलाई सफल बनाउन ‘नीतिगत विश्वास सबैभन्दा महत्वपूर्ण आधार भएको बताउनुभएको छ।
बैंक तथा वित्तीय क्षेत्रका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग भएको छलफलमा अर्थमन्त्री वाग्लेले सरकार आर्थिक सुधारका कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै निजी क्षेत्र, सरकार र नियामक निकायबीच विश्वास र समन्वय बलियो हुनुपर्नेमा जोड दिनुभयो।
उहाँले उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह बढाउने, मौद्रिक नीति, नियमन तथा सुपरिवेक्षणलाई समयानुकूल बनाउने र अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा बैंकिङ क्षेत्रबीचको समन्वयलाई अझ प्रभावकारी बनाउने विषयमा सुझाव माग्नुभएको थियो।
अर्थमन्त्री वाग्लेले अर्थतन्त्रलाई चलायमान बनाउन केवल मौद्रिक वा वित्तीय नीतिमात्र पर्याप्त नहुने उल्लेख गर्दै स्पष्ट, स्थिर र विश्वासयोग्य नीतिगत वातावरण आवश्यक रहेको बताउनुभयो। लगानीकर्ताको विश्वास बढेमा निजी क्षेत्रको लगानी विस्तार हुने र त्यसले रोजगारी सिर्जना तथा दिगो आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो।
उहाँले बैंकिङ प्रणालीमा देखिएका संरचनागत समस्याको समाधानका लागि आवश्यक कानुनी तथा नीतिगत सुधार अघि बढाइने र निजी क्षेत्रसँग निरन्तर संवाद कायम राखेर आर्थिक सुधारलाई तीव्रता दिइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।