अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ८५ अर्ब रुपैयाँ निक्षेप उठाउने

1.8k Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाबाट ८५ अर्ब रुपैयाँ बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बुधबार जारी गरेको सूचनाअनुसार निक्षेप सङ्कलनका लागि आज अपराह्न ३ बजेसम्म अनलाइन ‘बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस)’ मार्फत बोलकबोल गरिनेछ। बोलकबोलपछि निक्षेप निष्कासनको विवरण आजै सार्वजनिक गरिनेछ भने ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ।

राष्ट्र बैंकका अनुसार उक्त निक्षेपको साँवा र ब्याज आगामी कात्तिक १७ गते भुक्तानी गरिनेछ। बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको गुणाङ्कमा कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

यस प्रक्रियामा राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। एउटै संस्थाले फरक–फरक ब्याजदरमा एकभन्दा बढी आवेदन पनि पेश गर्न सक्ने व्यवस्था गरिएको छ।

बजारमा रहेको अधिक तरलता व्यवस्थापन गरी मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्र बैंकले समय–समयमा निक्षेप सङ्कलन उपकरणमार्फत तरलता प्रशोचन गर्दै आएको छ। (रासस)

 
 
 
सम्बन्धित समाचार