काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ बढाएपछि आन्तरिक उडानको हवाई भाडा महँगिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्युल सरचार्ज संशोधन गर्दै मंगलबारदेखि नयाँ भाडादर लागू गरेसँगै जहाज र हेलिकोप्टर दुवैको भाडा बढेको हो।
हवाई टिकटमा समावेश हुने फ्युल सरचार्ज इन्धनको मूल्यअनुसार समायोजन हुने भएकाले निगमले इन्धनको मूल्य बढाउँदा त्यसको प्रत्यक्ष असर यात्रुले तिर्नुपर्ने टिकट मूल्यमा परेको हो।
नयाँ दरअनुसार सबैभन्दा धेरै काठमाडौं–धनगढी रुटमा ८८० रुपैयाँ भाडा बढेको छ। त्यस्तै काठमाडौं–नेपालगञ्जमा ६५५ रुपैयाँ, काठमाडौं–भद्रपुरमा ६०५ रुपैयाँ, काठमाडौं–विराटनगरमा ४८० रुपैयाँ, काठमाडौं–भैरहवामा ४१० रुपैयाँ, काठमाडौं–पोखरामा ३१५ रुपैयाँ, काठमाडौं–जनकपुरमा २६० रुपैयाँ र काठमाडौं–सिमरामा १८० रुपैयाँ भाडा वृद्धि भएको छ। यसैगरी काठमाडौंबाट हुने पर्वतीय उडानमा ६८५ रुपैयाँ, सुर्खेतमा ६९० रुपैयाँ, तुम्लिङटारमा ३७० रुपैयाँ र राजविराजमा ४१० रुपैयाँ फ्युल सरचार्ज बढेको छ।
काठमाडौंबाहिरका रुटमा पनि भाडा समायोजन गरिएको छ। पोखरा–भद्रपुर उडानमा ८१० रुपैयाँ, पोखरा–धनगढीमा ६८५ रुपैयाँ र पोखरा–जनकपुरमा ५२५ रुपैयाँ भाडा बढेको छ। इन्धन मूल्यवृद्धिको असर हेलिकोप्टर सेवामा पनि परेको छ। नयाँ दरअनुसार काठमाडौं, ललितपुर र भक्तपुरभित्रको हेलिकोप्टर उद्धार उडानको ब्लक–टाइम शुल्क भ्याटसहित १ लाख २८ हजार रुपैयाँ कायम गरिएको छ।
पर्यटकीय तथा व्यावसायिक गन्तव्यतर्फ काठमाडौं–पोखरा हेलिकोप्टर चार्टरको शुल्क ३ लाख ८२ हजार रुपैयाँ, काठमाडौं–विराटनगर ५ लाख ७३ हजार रुपैयाँ, काठमाडौं–भैरहवा ५ लाख ९ हजार रुपैयाँ, काठमाडौं–सुर्खेत १० लाख १७ हजार रुपैयाँ र काठमाडौं–धनगढी १३ लाख ९९ हजार रुपैयाँ पुगेको छ।
दुर्गम जिल्लातर्फ हेलिकोप्टर चार्टर अझ महँगिएको छ। नयाँ दरअनुसार काठमाडौं–हुम्ला उडानको शुल्क १३ लाख ९९ हजार रुपैयाँ र काठमाडौं–दार्चुलाको १६ लाख ५३ हजार रुपैयाँ पुगेको छ। प्राधिकरणका अनुसार संशोधित फ्युल सरचार्ज मंगलबारदेखि लागू भइसकेको छ र अब यात्रुले नयाँ दरअनुसार टिकट शुल्क तिर्नुपर्नेछ।