नेप्सेमा २१.१५ अंकको तीव्र गिरावट, सबै उपसूचक राताम्मे
8.6k
Shares
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा तीव्र गिरावट आएको छ। नेप्से सूचक २१.१५ अंकले घटेर २ हजार ६६३.१८ अंकमा झरेको हो।
आज बजार परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ। मंगलबार ४ अर्ब ७ करोड ८ लाख ५३ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख ६१ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
अघिल्लो कारोबार दिन सोमबार नेप्से १.२० अंकले मात्र घटेको थियो। त्यस दिन ४ अर्ब ५७ करोड २० लाख ८४ हजार रुपैयाँ बराबरको १ करोड १४ लाख ४९ हजार कित्ता शेयर कारोबार भएको थियो।
आज कारोबार भएका १३ वटै उपसूचक ऋणात्मक रहे। बजारमा सूचीकृत २१३ कम्पनीको शेयर मूल्य घट्दा केवल ५९ कम्पनीको शेयर मूल्य मात्र बढेको छ।
गिरावटबीच पनि एभरेष्ट कलर लिमिटेडको शेयर मूल्य लगातार दोस्रो दिन पनि १५ प्रतिशतले वृद्धि हुँदै प्रतिकित्ता १ हजार ७३१ रुपैयाँ ४० पैसा पुगेको छ। समग्र बजार भने अधिकांश कम्पनीको मूल्य घटेसँगै दबाबमा देखिएको छ।