काठमाडौं, १९ साउन । नेपाल एलपी ग्यास उद्योग संघले कम्तीमा एक महिनासम्म पुग्ने खाना पकाउने ग्यास (एलपीजी) मौज्दात भएका उपभोक्तालाई तत्काल ग्यास खरिदका लागि लाइनमा नबस्न आग्रह गरेको छ।
संघले मंगलबार विज्ञप्ति जारी गर्दै बजारमा देखिएको अस्वाभाविक भीड र अनावश्यक खरिद प्रवृत्तिले वास्तविक आवश्यकता भएका उपभोक्तालाई ग्यास उपलब्ध गराउन समस्या उत्पन्न भएको जनाएको छ।
संघका अनुसार हाल उद्योगहरूले उपलब्ध मौज्दात तथा आयात प्रक्रियालाई नियमित रूपमा अघि बढाइरहेका छन्। आपूर्तिलाई सहज बनाउन सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको र बजारमा ग्यासको अभाव सिर्जना नहोस् भन्ने उद्देश्यले वितरण व्यवस्थापनमा ध्यान दिइएको पनि संघले जनाएको छ।
संघले पर्याप्त ग्यास मौज्दात भएका उपभोक्तालाई धैर्य गर्न र आवश्यक परेपछि मात्र सिलिन्डर भर्न वा नयाँ ग्यास खरिद गर्न आग्रह गरेको छ। यसबाट सीमित मौज्दात वास्तविक आवश्यकतामा रहेका उपभोक्तासम्म सहज रूपमा पुग्ने विश्वास संघले व्यक्त गरेको छ।
साथै, संघले उपभोक्तालाई हल्ला वा अफवाहका आधारमा अत्यधिक खरिद नगर्न तथा संयमित रूपमा उपभोग गर्न पनि अनुरोध गरेको छ। संघका अनुसार बजारमा कृत्रिम अभाव सिर्जना हुने अवस्था रोक्न सबै पक्षको सहयोग आवश्यक छ।