काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई राहदानीसम्बन्धी कसुरमा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार हाल परराष्ट्र मन्त्रालयको श्रम, आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखा मा कार्यरत ५६ वर्षीय भट्टराईलाई राहदानी ऐनअन्तर्गतको कसुरमा सोमबार पक्राउ गरिएको हो।
प्रहरीका अनुसार जर्मनी जाने भिसा प्रयोजनका लागि काठमाडौंस्थित जर्मन राजदूतावासमा पेश गरिएका यात्रा अनुमति पत्रमाथि शंका उत्पन्न भएपछि जर्मन राजदूतावासले २०६८ जेठ २० गते अनुसन्धानका लागि सम्बन्धित कागजात नेपाललाई पठाएको थियो।
अनुसन्धानका क्रममा ती यात्रा अनुमति पत्र जारी गर्ने कार्यमा तत्कालीन समयमा परराष्ट्र मन्त्रालयको कन्सुलर शाखामा शाखा अधिकृत रहेका पुष्पराज भट्टराईको संलग्नता देखिएको सीआईबीले जनाएको छ।
यस प्रकरणमा अनुसन्धान पूरा भएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २०८३ साउन ११ गते काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो, जहाँ भट्टराईलाई प्रतिवादी बनाइएको थियो।
सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार पक्राउ परेका भट्टराईलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई कानुनी प्रक्रिया अघि बढाइएको छ।