विद्यालय तहमा थपिँदै आठ नयाँ पाठ्यक्रम, कानुनदेखि मातृभाषासम्मका विषय समावेश

988 Shares

काठमाडौं । विद्यालय तहमा आठ वटा नयाँ पाठ्यक्रम थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका ती पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा सिफारिस गरिसकेको छ। अन्तिम स्वीकृतिपछि ती पाठ्यक्रम विद्यालयमा कार्यान्वयनको प्रक्रिया अघि बढाइनेछ।

शिक्षा तथा खेलकुदमन्त्रीको अध्यक्षतामा रहने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले नयाँ पाठ्यक्रम स्वीकृतिका लागि सिफारिस गरेको हो। कानुनी व्यवस्थाअनुसार परिषद्को सिफारिसपछि मन्त्रालयबाट अन्तिम स्वीकृति लिनुपर्ने व्यवस्था रहेको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक तथा परिषद्का सदस्यसचिव युवराज पौडेलले जानकारी दिएका छन्।

नयाँ प्रस्तावित पाठ्यक्रममध्ये आधारभूत तह (कक्षा ६–८) का लागि मातृभाषा समूहका अवधि र मगर ढुट विषय समावेश छन्। यस्तै माध्यमिक तह (कक्षा ९–१०) मा जनसङ्ख्या अध्ययन र तन्त्रशास्त्र विषयका पाठ्यक्रम प्रस्ताव गरिएका छन्।

कक्षा ११–१२ का लागि भने कानुनसम्बन्धी पाँच नयाँ विषय समावेश गरिएका छन्। तीमध्ये संवैधानिक कानुन, देवानी तथा फौजदारी कानुन र न्याय, कार्यविधि कानुन, कानुनी मसौदा तथा विधिशास्त्र तथा नेपाली कानुनी प्रणाली रहेका छन्।

यी नयाँ पाठ्यक्रम स्वीकृत भएसँगै कक्षा १ देखि १२ सम्मका लागि तयार पारिएका विद्यालय तहका पाठ्यक्रमको सङ्ख्या तीन सयभन्दा बढी पुग्ने भएको छ।

पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी पुरुषोत्तम घिमिरेका अनुसार विज्ञ र सरोकारवालाबाट प्राप्त सुझाव तथा आवश्यकता अनुसार नयाँ पाठ्यक्रम तयार गरिन्छ। तर तयार भएका सबै पाठ्यक्रम विद्यालयमा कार्यान्वयन हुन सकेका छैनन्।

कतिपय विषयमा विद्यार्थीको संख्या न्यून हुनु, आवश्यक शिक्षक तथा जनशक्ति अभाव हुनुजस्ता कारणले केही पाठ्यक्रम व्यवहारमा लागू हुन नसकेको केन्द्रले जनाएको छ।

घिमिरेका अनुसार केन्द्रको जिम्मेवारी पाठ्यक्रम निर्माणसम्म सीमित भएकाले कार्यान्वयन भने सम्बन्धित निकायको जिम्मेवारीमा पर्छ। एउटै विषयका लागि पनि विभिन्न कक्षाअनुसार छुट्टाछुट्टै पाठ्यक्रम बनाउनुपर्ने भएकाले विद्यालय तहमा पाठ्यक्रमको सङ्ख्या स्वाभाविक रूपमा धेरै भएको उनले बताए।

सम्बन्धित समाचार