आज देशभर बदली, अधिकांश क्षेत्रमा वर्षा; केही प्रदेशमा भारी वर्षाको चेतावनी
3.8k
Shares
काठमाडौं । आज देशभर सामान्यदेखि पूर्ण बदली रहने र अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू–भागका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाले हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षासँगै हिमपातसमेत हुन सक्ने जनाएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
रातिको समयमा पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थान, मधेश प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाका अनुसार रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी–नाला आसपास, पहिरोको जोखिमयुक्त क्षेत्र तथा शहरी डुबान हुने स्थानमा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।