माइतीघर किन डुब्छ ? समाधानका लागि छुट्टै ढल र वर्षाको पानी निकास प्रणाली बन्ने

1.9k Shares

काठमाडौं । राजधानीको प्रमुख प्रशासनिक केन्द्र माइतीघर मण्डला सामान्य वर्षा हुँदा पनि जलमग्न हुने समस्या समाधानका लागि काठमाडौं महानगरपालिकाले दीर्घकालीन योजना अघि बढाएको छ। महानगरले ढल र वर्षाको पानी (स्टर्म वाटर) निकासका लागि छुट्टाछुट्टै पाइप प्रणाली निर्माण गर्ने तयारी गरेको जनाएको छ।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार हाल अधिकांश क्षेत्रमा ढल र वर्षाको पानी एउटै पाइपमार्फत निकास हुने भएकाले सामान्यभन्दा बढी वर्षा भएलगत्तै प्रणालीले चाप धान्न नसक्दा सडक डुबान हुने गरेको छ।

माइतीघर, सिंहदरबार, सर्वोच्च अदालत, विभिन्न मन्त्रालय तथा कूटनीतिक नियोग जोड्ने सडक वर्षेनी जलमग्न हुँदा सर्वसाधारणदेखि विशिष्ट व्यक्तिसम्म आवतजावतमा सास्ती खेप्न बाध्य हुँदै आएका छन्। डुबानका कारण ट्राफिक जाम, पैदल यात्रामा कठिनाइ तथा सडक दुर्घटनाको जोखिमसमेत बढ्ने गरेको छ।

डुबानको मुख्य कारण के हो ?

प्राविधिक अध्ययन प्रतिवेदनले माइतीघर क्षेत्रमा डुबानको प्रमुख कारण पुरानो र साँघुरो ढल प्रणाली, वर्षाको पानी र फोहोरपानी एउटै निकास प्रणालीबाट बग्ने संरचना, अव्यवस्थित सहरीकरण, प्राकृतिक पानी जम्ने क्षेत्रको विनाश तथा ढलमाथिको अतिक्रमण रहेको उल्लेख गरेको छ।

प्रतिवेदनअनुसार जलवायु परिवर्तनका कारण छोटो समयमा अत्यधिक वर्षा हुने क्रम बढेपछि अहिलेको निकास प्रणालीले पानीको चाप धान्न नसक्दा डुबानको समस्या झन् जटिल बन्दै गएको छ।

अध्ययनले ढल प्रणालीमा ‘बोटलनेक’ समस्या, टुकुचा खोलाबाट आउने ‘ब्याकवाटर इफेक्ट’, म्यानहोलबाट पानी बाहिर निस्कने अवस्था तथा विभिन्न निकायबीच समन्वय अभावलाई पनि डुबानका प्रमुख कारणका रूपमा औँल्याएको छ।

दीर्घकालीन समाधानको तयारी

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयोजनमा काठमाडौं महानगरपालिका, सडक डिभिजन काठमाडौं र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले संयुक्त रूपमा अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन कार्ययोजना कार्यान्वयन सुरु गरेका छन्।

मध्यमकालीन योजनाअन्तर्गत पुराना र साँघुरा ढलका पाइपको अध्ययन गरी आवश्यक स्थानमा ठूला पाइप जडान गर्ने तथा वैकल्पिक निकास निर्माण गरिनेछ।

दीर्घकालीन योजनाअन्तर्गत वर्षाको पानी र ढलको पानीका लागि छुट्टाछुट्टै निकास प्रणाली विकास गर्न विस्तृत गुरुयोजना तयार गरिनेछ। साथै नयाँ सरकारी तथा व्यावसायिक भवनमा वर्षाको पानी सङ्कलन प्रणाली (रेन वाटर हार्भेस्टिङ) र ढल प्रशोधन प्रणाली अनिवार्य बनाउने तयारी गरिएको छ।

अध्ययनले सुझायो यस्ता उपाय

प्राविधिक प्रतिवेदनले वर्षाको पानी केही समय सङ्कलन गरेर विस्तारै निकास गर्ने ‘डिलेड डिस्चार्ज’ प्रणाली विकास, भूमिगत पानी सङ्कलन ट्याङ्की निर्माण, प्राकृतिक पानी जम्ने क्षेत्रको संरक्षण, नयाँ स्टर्म ड्रेन निर्माण, पुराना ढलको क्षमता विस्तार तथा ढलमा ‘नन–रिटर्न चेक भल्भ’ वा ‘फ्ल्याप गेट’ जडान गर्न सिफारिस गरेको छ।

प्रतिवेदनले सिंहदरबार–माइतीघर क्षेत्रको डुबान समस्या केवल ढल सफाइ वा अस्थायी मर्मतबाट समाधान नहुने निष्कर्ष निकाल्दै वैज्ञानिक सहरी योजना, आधुनिक निकास पूर्वाधार र सम्बन्धित निकायबीच प्रभावकारी समन्वयमार्फत मात्र दीर्घकालीन समाधान सम्भव हुने औँल्याएको छ।

सम्बन्धित समाचार