रुकुमपश्चिम । रुकुमपश्चिमको सानीभेरी गाउँपालिका अस्पतालले आफ्नै नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सञ्चालन सुरु गरेको छ। १५ शय्याको आधुनिक अस्पताल भवन निर्माण सम्पन्न भएपछि अस्पतालले विधिवत् रूपमा नयाँ भवनबाट सेवा प्रवाह थालेको हो।
गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर विष्टले भवन उद्घाटन गर्दै आधुनिक पूर्वाधारबाट स्वास्थ्य सेवा सञ्चालन हुनु गाउँपालिकाका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले अब नागरिकलाई गुणस्तरीय, प्रभावकारी र सहज स्वास्थ्य सेवा उपलब्ध गराउनु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो।
अध्यक्ष विष्टले गाउँपालिकाले स्वास्थ्य र शिक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै नयाँ भवनले स्थानीय नागरिकलाई थप सहज र व्यवस्थित सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
करिब साढे पाँच वर्षअघि शिलान्यास गरिएको अस्पताल भवन करिब १८ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो। २०७७ फागुनमा तत्कालीन गाउँपालिका अध्यक्ष नरबहादुर पुनले भवनको शिलान्यास गर्नुभएको थियो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काका अनुसार भवन उद्घाटनसँगै अस्पताल औपचारिक रूपमा नयाँ भवनबाट सञ्चालनमा आएको हो।
अस्पताल उद्घाटनको अवसरमा उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई सम्मान पनि गरिएको छ। एक वर्षको अवधिमा ७९ वटा सफल प्रसूति सेवा प्रदान गरेको भन्दै अस्पतालमा कार्यरत अनमी मनकला ओलीलाई नगद २० हजार रुपैयाँ र सम्मानपत्रसहित सम्मान गरिएको छ।
यस्तै, प्रसूति सेवामा सहयोगी भूमिका निर्वाह गरेको भन्दै प्रविक विकलाई नगद पाँच हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको छ। अस्पताल निर्माणका लागि निःस्वार्थ रूपमा जग्गा उपलब्ध गराउने जग्गादातालाई पनि कार्यक्रममा सम्मान गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले आधुनिक भवन सञ्चालनसँगै सानीभेरी गाउँपालिकाका नागरिकले अझ सुरक्षित, व्यवस्थित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरेका छन्।