स्थानीय प्रभावितलाई जलविद्युत्को आइपिओ १०० रुपैयाँमै दिन इप्पानको आग्रह

1.8k Shares

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जलविद्युत् आयोजनाबाट प्रभावित स्थानीय बासिन्दालाई दिइने साधारण सेयर (आइपिओ) अङ्कित मूल्य अर्थात् प्रति कित्ता १०० रुपैयाँमै उपलब्ध गराउनुपर्ने बताएको छ।

केही जलविद्युत् प्रवर्द्धक कम्पनीले स्थानीय प्रभावितलाई पनि प्रिमियम मूल्य थपेर आइपिओ निष्कासन गर्ने तयारी गरेको भन्ने चर्चा सार्वजनिक भएपछि इप्पानले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

इप्पानले जारी गरेको विज्ञप्तिमा स्थानीय प्रभावितलाई प्रिमियम मूल्यमा सेयर बिक्री गरिए उनीहरूको पहुँच सीमित हुने, आयोजनाप्रति अपनत्वको भावना कमजोर बन्ने तथा आयोजना र स्थानीय समुदायबीचको विश्वासमा नकारात्मक असर पर्ने उल्लेख गरिएको छ।

संस्थाले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ अनुसार स्थानीय लाभग्राहीलाई १० प्रतिशत सेयर छुट्याउने कानुनी व्यवस्था रहेको स्मरण गराउँदै त्यसको मर्मविपरीत कुनै पनि निर्णय नगर्न आफ्ना सदस्य कम्पनीलाई आग्रह गरेको छ।

इप्पानका अनुसार आयोजना निर्माणका क्रममा जग्गा उपलब्ध गराउने, वातावरणीय तथा सामाजिक प्रभाव भोग्ने, निर्माण अवधिका असुविधा सहने र आयोजनाको सफल कार्यान्वयनमा प्रत्यक्ष सहयोग गर्ने स्थानीय समुदायलाई आयोजनाको स्वामित्वमा सहभागी गराउने उद्देश्यले नै स्थानीयका लागि सेयर छुट्याउने व्यवस्था गरिएको हो।

संस्थाले अङ्कित मूल्यमै सेयर उपलब्ध गराउँदा स्थानीय समुदायले आयोजनाबाट दीर्घकालीन आर्थिक लाभ लिन सक्ने, आर्थिक सशक्तीकरण, स्थानीय विकास तथा सामाजिक सद्भावमा सकारात्मक योगदान पुग्ने जनाएको छ।

इप्पानले सरकार, सम्बन्धित नियामक निकाय तथा सबै जलविद्युत् प्रवर्द्धक कम्पनीलाई स्थानीय प्रभावितको हित, जलविद्युत् आयोजनाको दीर्घकालीन स्थायित्व तथा निजी क्षेत्र र स्थानीय समुदायबीचको विश्वास कायम राख्ने गरी कानुन र व्यवस्थाको पालना गर्न आग्रह गरेको छ।

सम्बन्धित समाचार