देशभर बदली, पहाडी क्षेत्रमा भारी वर्षा र पहिरोको जोखिम बढ्ने

7k Shares

काठमाडौं । आज देशभर सामान्यदेखि पूर्ण बदली रहने तथा अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्छ। बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थान तथा मधेश, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। साथै, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा धेरै भारी वर्षासमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थान तथा मधेश प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा पनि वर्षा हुने अनुमान छ।

महाशाखाका अनुसार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रका साथै लुम्बिनी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी तथा तराई क्षेत्रमा धेरै भारी वर्षाको सम्भावना रहेकाले नदी–नाला आसपास बसोबास गर्ने, पहिरोको जोखिम भएका क्षेत्र तथा यात्रा गर्ने सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

सम्बन्धित समाचार