जनकपुरधाम । गृहमन्त्री सुदन गुरुङको नेतृत्वमा रहेको सरकारी टोली र हिन्दू सम्राट सेना नेपालबीच आइतबार जनकपुरधाममा भएको वार्तापछि १९ बुँदे समझदारी भएको छ। सहमतिसँगै हिन्दू सम्राट सेना नेपालले जारी आन्दोलन तथा विरोधका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको घोषणा गरेको छ।
जनकपुरधामस्थित एक होटलमा करिब डेढ घण्टा चलेको वार्तापछि दुवै पक्षबीच सहमति जुटेको हो। यसअघि संयुक्त हिन्दू मोर्चाले सरकारलाई बुझाएको १३ बुँदे मागपत्रमा थप ६ बुँदा समावेश गर्दै १९ बुँदे प्रस्तावमा सहमति गरिएको हो।
हिन्दू सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीले सरकारले आफ्ना मागप्रति सकारात्मक धारणा व्यक्त गरेको र ती माग कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको जानकारी दिए। उहाँका अनुसार सहमतिपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ।
समझदारीअनुसार आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई रिहा गर्ने, उनीहरूमाथि मुद्दा नचलाउने तथा आन्दोलनका क्रममा गोली चलाउने सुरक्षाकर्मीमाथि छानबिन गरी दोषी ठहरिए कानुनबमोजिम कारबाही गर्ने विषयमा सहमति भएको छ।
वार्तापछि गृहमन्त्री सुदन गुरुङले सरकारले यसअघि प्रस्तुत १३ बुँदे तथा थप गरिएका ६ बुँदे माग औपचारिक रूपमा ग्रहण गरेको बताउँदै सहमतिका विषय कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिए।
यसअघि बुझाइएको १३ बुँदे मागपत्रमा नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउने विषयमा छलफल अगाडि बढाउने, धार्मिक स्थलको व्यवस्थापन, सामाजिक सञ्जालमार्फत धार्मिक तथा जातीय द्वेष फैलाउने गतिविधिमाथि कानुनी कारबाही गर्ने, सुनसरीको देवानगञ्ज घटनापछि पक्राउ परेकाहरूको मुद्दा पुनरावलोकन गर्ने, घाइतेहरूको उपचारको व्यवस्था गर्ने, धार्मिक आयोगको पुनरावलोकन तथा नागरिकता छानबिनलगायतका विषय समावेश थिए।
त्यस्तै, थप गरिएका ६ बुँदे मागमा नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्रका रूपमा पुनःस्थापनाका लागि संसद्मा छलफल गराउने, घुसपैठ नियन्त्रणका लागि उच्चस्तरीय छानबिन गरी सीमा सुरक्षा कडा बनाउने, धार्मिक संस्थाको आर्थिक स्रोतको अनुसन्धान गर्ने, सर्वोच्च अदालतको निर्णयअनुसार लाउडस्पिकर सम्बन्धी व्यवस्था कार्यान्वयन गर्ने तथा नागरिकता छानबिनका विषय समेटिएका छन्।
सुनसरीको देवानगञ्ज घटनापछि मधेश प्रदेशमा उत्पन्न तनाव समाधानका लागि गृहमन्त्री गुरुङ नेतृत्वको सरकारी टोली जनकपुरधाम पुगेको थियो। वार्तामा मधेश प्रदेशका प्रतिनिधि, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, सुरक्षा निकायका प्रमुखहरू तथा हिन्दू संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।