काठमाडौं । नेपाल आयल निगमले यस महिनाको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची अझै सार्वजनिक गरेको छैन। सामान्यतया प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा नयाँ मूल्य लागू गर्ने निगमले यसपटक भने इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट नयाँ मूल्य प्राप्त भइसके पनि निर्णय स्थगित गरेको हो।
निगमका अनुसार आईओसीबाट प्राप्त नयाँ मूल्यमा उल्लेख्य परिवर्तन भएकाले सञ्चालक समितिको निर्णयपछि मात्रै नयाँ मूल्यसूची सार्वजनिक गरिनेछ। स्वचालित मूल्य प्रणालीअनुसार प्रतिलिटर २ रुपैयाँसम्म मूल्य घटाउने वा बढाउने अधिकार निगम व्यवस्थापनलाई भए पनि सोभन्दा बढी समायोजन गर्नुपर्ने अवस्थामा सञ्चालक समितिको स्वीकृति अनिवार्य हुन्छ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरले आईओसीबाट प्राप्त नयाँ मूल्यमा ठूलो अन्तर रहेकाले सञ्चालक समितिको बैठक बसेर निर्णय भएपछि मात्रै नयाँ मूल्य कार्यान्वयनमा आउने बताए।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति सचिवको अध्यक्षतामा रहने निगमको सञ्चालक समितिमा उद्योग मन्त्रालय, अर्थ मन्त्रालय, गुणस्तर तथा नापतौल विभाग, वाणिज्य विभागका प्रतिनिधिसहित विज्ञ सदस्य र निगमका अधिकारी सहभागी रहने व्यवस्था छ।
निगम स्रोतका अनुसार यसपटक भारतबाट पेट्रोलियम पदार्थको मूल्य दोहोरो अंकले बढेर आएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएपछि आईओसीले नेपाललाई पठाउने नयाँ मूल्यसूचीमा पनि उल्लेख्य वृद्धि भएको स्रोतको दाबी छ।
शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले सञ्चालक समितिको बैठक बस्न नसकेको र त्यसकै कारण नयाँ मूल्य सार्वजनिक गर्न ढिलाइ भएको निगमको भनाइ छ। बैठक बसेर निर्णय गरेलगत्तै संशोधित मूल्यसूची लागू गरिने जनाइएको छ।
भारतबाट बढेको मूल्यका कारण नेपालमा पनि पेट्रोल, डिजेल र अन्य पेट्रोलियम पदार्थको मूल्य बढ्ने लगभग निश्चित देखिए पनि कति रुपैयाँले वृद्धि हुनेछ भन्ने विषय भने सञ्चालक समितिको निर्णयपछि मात्रै टुंगो लाग्नेछ।
यसअघि पनि आईओसीबाट प्राप्त खरिद मूल्यका आधारमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नियमित रूपमा समायोजन गर्दै आएको छ। यसपटकको मूल्यवृद्धिले उपभोक्तामाथि थप आर्थिक भार पर्ने अनुमान गरिएको छ।