ब्रड पिकबाट आएको दुःखद समाचारले मन अत्यन्तै स्तब्ध र मर्माहत भएको छ: गगन थापा

5k Shares

काठमाडौं । निम्स, प्रोजेक्ट पोसिबल सुरु हुनुभन्दा पहिले, संसारले तपाईंको असाधारण क्षमतालाई चिन्नुभन्दा पहिले नै हाम्रो भेट भएको थियो । त्यसबेलादेखि नै तपाईंभित्र असम्भवलाई सम्भव बनाउने अदम्य साहस, दृढ संकल्प र असाधारण आत्मविश्वास देखेको थिएँ। त्यसैले अन्तिम क्षणसम्म पनि तपाईं सधैँझैँ सुरक्षित फर्किनुहुनेछ भन्ने विश्वास मनमा जीवित थियो ।

तपाईंले बनाएका कीर्तिमानहरू इतिहासका पानामा अवश्य रहनेछन् । तर तपाईंको सबैभन्दा ठूलो उपलब्धि त्योभन्दा धेरै माथि छ। तपाईंले नेपाली पर्वतारोहीहरूको क्षमता, नेतृत्व र पहिचानलाई विश्वसामु नयाँ उचाइमा पुर्‍याउनुभयो। नेपालीहरू केवल अभियान सफल बनाउने श्रमिक होइनन्, नयाँ इतिहास रच्ने, नेतृत्व गर्ने र पर्वतारोहणको भविष्यलाई नयाँ दिशा दिने विश्वस्तरीय अग्रदूत हुन् भन्ने विश्वास तपाईंले स्थापित गर्नुभयो । तपाईंले सम्पूर्ण नेपालीलाई गर्व गर्ने आधार दिनुभयो। तपाईंको प्रेरणा र योगदानले आउने पुस्ताहरूलाई अझ धेरै सपना देख्न र ती सपना पूरा गर्न साहस दिनेछ।

आज म पुरबहादुर "युक्त" गुरुङ, किली पेम्बा "किलु" शेर्पा, निमा शेर्पा, नावाङ थिन्दु शेर्पा, ग्यालु शेर्पा, सोहेल साखी, म्यालोरी गाइस, नधिरा अल हार्थी र वाङ झोङलाई पनि उत्तिकै श्रद्धापूर्वक सम्झन्छु । प्रत्येक नामसँग साहसको एउटा कथा छ, समर्पणको एउटा इतिहास छ, अधुरा सपनाहरू छन् र घरमा बाटो हेरेर बसेका प्रियजनहरूको अथाह पीडा छ ।

हिमालले आज धेरै उज्याला तारा गुमाएको छ । यो क्षति केवल परिवारहरूको मात्र होइन, नेपालको, विश्व पर्वतारोहण समुदायको र मानव साहसको इतिहासकै अपूरणीय क्षति हो ।

यस दुःखद घडीमा शोकसन्तप्त सम्पूर्ण परिवार, आफन्त, साथीभाइ तथा विश्व पर्वतारोहण समुदायप्रति हार्दिक समवेदना व्यक्त गर्दछु। दिवंगत सम्पूर्ण आरोहीहरूको आत्माको चिरशान्तिको कामना गर्दछु ।

"तपाईंहरू शारीरिक रूपमा हामीबीच नरहन सक्नुहोला, तर तपाईंहरूको साहस, समर्पण र प्रेरणाले नेपालीहरूको हृदय र विश्व पर्वतारोहणको इतिहासमा सधैँ जीवित रहनेछ ।" हार्दिक श्रद्धाञ्जली।

761515232_1307006307969436_5561623351216863622_n.jpe

सम्बन्धित समाचार