जेनजी- आन्दोलनले क्षति पुर्‍याएका सरकारी भवन पुनर्निर्माण हुँदै

3.2k Shares

काठमाडौं । ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटबाट क्षति पुगेका प्रमुख सरकारी भवनहरूको पुनर्निर्माण कार्य सरकारले तीव्र बनाएको छ । सिंहदरबारको पूर्वी भाग र ललितपुरको भैंसेपाटीस्थित मन्त्री निवासको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ भने केही संरचनाको पुनर्निर्माण प्रक्रिया भने अझै सुरु हुन सकेको छैन ।

आन्दोलनका क्रममा सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, विभिन्न मन्त्रालय, शीतलनिवास, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, गोदावरी सभाहललगायत सरकारी संरचनामा ठूलो क्षति पुगेको थियो । सामान्य क्षति भएका भवन मर्मतपछि सञ्चालनमा आइसकेका छन् भने गम्भीर रूपमा प्रभावित संरचनाको पुनर्निर्माण भइरहेको छ ।

संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सिनियर डिभिजनल इन्जिनियर गणेश कर्माचार्यका अनुसार क्षतिग्रस्त भवनहरूको विवरण संकलन गरी प्राथमिकताका आधारमा पुनर्निर्माण अघि बढाइएको हो । उनका अनुसार सिंहदरबारको पूर्वी भागमा रङरोगन, झ्याल–ढोका प्रतिस्थापन, विद्युतीकरण र आन्तरिक सजावटको काम भइरहेको छ र यही साउनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

सिंहदरबारको पश्चिमी भागको डिजाइन तयार भइसके पनि पुरातात्त्विक महत्त्वका कारण पुनर्निर्माणअघि पुरातत्त्व विभागसँग परामर्श भइरहेको कर्माचार्यले बताए । उनका अनुसार ऐतिहासिक स्वरूप जोगाउने गरी यसै आर्थिक वर्षभित्र पुनर्निर्माण सुरु गर्ने तयारी छ ।

सरकारले आन्दोलनमा क्षति पुगेको प्रधानमन्त्री कार्यालयको एक भागलाई भत्काउने नभई ‘स्मारक सङ्ग्रहालय’का रूपमा संरक्षण गर्ने योजना पनि अघि सारेको छ । आन्दोलनको इतिहास र त्यसबाट प्राप्त सन्देशलाई स्मरणीय बनाउन उक्त संरचनालाई संग्रहालयका रूपमा विकास गर्ने तयारी गरिएको छ। 

कर्माचार्यका अनुसार अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा शिक्षा मन्त्रालयका भवनको मर्मत तथा पुनर्निर्माण सम्पन्न भइसकेको छ । तर तत्कालीन गृह मन्त्रालय भवनको डिजाइन तयार भए पनि पुनर्निर्माणका लागि अझै बोलपत्र आह्वान गरिएको छैन ।

शीतलनिवासको मुख्य भवन अझै प्रतीक्षामै

राष्ट्रपति कार्यालय शीतलनिवासको मुख्य भवनको पुनर्निर्माण भने एक वर्ष पुग्न लाग्दासमेत सुरु हुन सकेको छैन। हाल लागत अनुमान तयार गर्ने काम भइरहेको छ । कम क्षति पुगेका केही ब्लक र एउटा सभाहलको पुनर्निर्माण भने अन्तिम चरणमा रहेको कार्यालयले जनाएको छ ।

लागत अनुमान स्वीकृत भएपछि मुख्य भवन पुनर्निर्माणका लागि बोलपत्र आह्वान गरिने जनाइएको छ ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बन्ने

आगजनीबाट पूर्ण रूपमा क्षति पुगेको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई पुनः मर्मत गर्न नसकिने निष्कर्षसहित नयाँ भवन निर्माणको तयारी गरिएको छ ।

सहरी विकास तथा भवन विभागका उपमहानिर्देशक प्रकाश अर्यालका अनुसार विस्तृत क्षति मूल्याङ्कन (डिडिए) ले पुरानो संरचना भत्काएर नयाँ भवन निर्माण गर्नुपर्ने देखाएको छ। नयाँ भवन पुरानै डिजाइनमा बनाउने वा नयाँ अवधारणाअनुसार निर्माण गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।

यसैगरी, ललितपुरको गोदावरीस्थित सभाहलको डिजाइन तयार भइसकेको छ र बोलपत्र आह्वानको तयारी भइरहेको छ । यसको पुनर्निर्माणमा करिब ५० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

मन्त्री निवास यसै महिना हस्तान्तरण हुने

भैंसेपाटीस्थित मन्त्री निवासको पुनर्निर्माण पनि अन्तिम चरणमा पुगेको छ। संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयकी सिनियर डिभिजनल इन्जिनियर रोनिका जोशीका अनुसार ३८ करोड ६० लाख रुपैयाँ लागतमा भइरहेको पुनर्निर्माण यही महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

उनका अनुसार मन्त्री निवास परिसरका २७ वटा भवन तीन चरणमा पुनर्निर्माण भइरहेका छन् । पहिलो चरणमा ११ र दोस्रो चरणमा १६ भवनको संरचनागत काम भइरहेको छ भने तेस्रो चरणमा भित्री सजावटको काम हुँदैछ ।

जोशीले पुनर्निर्माण सम्पन्न भएका भवनहरू क्रमशः इन्टेरियरको काम सकेपछि मन्त्रीहरूलाई हस्तान्तरण गर्दै जाने जानकारी दिइन्। इन्टेरियरसम्बन्धी ठेक्काको म्याद असोज मसान्तसम्म रहेको उनले बताइन् ।

सम्बन्धित समाचार