आज र भोलि भारी वर्षाको चेतावनी, ३७ जिल्लामा बाढीको मध्यम जोखिम

11.6k Shares

काठमाडौं । मनसुन सक्रिय भएसँगै आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि मुसलधारे वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी क्षेत्रका केही स्थानमा ठूलो वर्षा हुने र तराईका केही भूभागमा पनि मध्यमदेखि भारी वर्षा हुन सक्ने जनाएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित ३७ जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङसँगै संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, मकवानपुर, पर्सा, बारा, गोरखा, मनाङ, मुस्ताङ, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, पाल्पा, गुल्मी, बागलुङ, चितवन, नवलपरासी (पूर्व/पश्चिम), रुपन्देही, सुर्खेत, दैलेख, अछाम, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुरमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाले खोला तथा नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सचेत रहन र आकस्मिक बाढीको जोखिमलाई ध्यानमा राख्न आग्रह गरेको छ। आज दिउँसो पहाडी भूभागका धेरै स्थान तथा तराईका केही क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार मनसुन पूर्ण रूपमा सक्रिय रहेकाले सोमबारसम्म देशका अधिकांश क्षेत्रमा वर्षा जारी रहने सम्भावना छ। उनले अत्यावश्यकबाहेक पहाडी सडकमा यात्रा नगर्न तथा यात्रा गर्नै परे सडकको अवस्था बुझेर मात्रै निस्किन आग्रह गरेका छन्। विशेषगरी वीपी राजमार्गको धुलिखेल–रोशी–मुलकोट खण्ड र पृथ्वी राजमार्गको नौबिसे–मलेखु–मुग्लिन–जुगेडी खण्डमा विशेष सावधानी अपनाउन सुझाव दिइएको छ।

सम्बन्धित समाचार