काठमाडौँ । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलाअन्तर्गत पर्ने ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको भीषण हिमपहिरोमा परेका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित १० जना आरोहीको मृत्यु भएको आधिकारिक रूपमा पुष्टि भएको छ।
हिमपहिरोपछि बेपत्ता भएका आरोहीमध्ये चारजनाको शव शुक्रबार फेला परेको थियो भने बाँकी छ जना सम्पर्कविहीन थिए। शनिबार ‘निम्स दाइ फाउन्डेसन’ र ‘एलिट एक्सपिडिसन’ले सामाजिक सञ्जालमार्फत सबै बेपत्ता आरोहीको पनि मृत्यु भएको पुष्टि गरेका हुन्।
दुर्घटनामा म्याग्दीको दाना निवासी तथा पूर्वबेलायती गोर्खा सैनिकसमेत रहेका निर्मल पुर्जासहित छ जना नेपालीले ज्यान गुमाएका छन्। मृत्यु हुने अन्य नेपाली आरोहीमा गोरखाका पुरबहादुर गुरुङ, सङ्खुवासभाका निमा शेर्पा र नवाङ थिन्डु शेर्पा, दोलखाका किलीपेम्बा शेर्पा तथा ओखलढुङ्गाका ग्यालु शेर्पा रहेका छन्।
यस दुर्घटनामा चार विदेशी आरोहीको पनि मृत्यु भएको छ। उनीहरूमा पाकिस्तानका सोहेल शाखी, चीनका वाङ झोङ, ओमानकी नादिरा अहमद र अमेरिकाकी म्यालोरी गेइस रहेका छन्।

सन् २०१९ मा निर्मल पुर्जाले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिना छ दिनमै आरोहण गरेर ऐतिहासिक विश्व कीर्तिमान कायम गरेका थिए। त्यसपछि उहाँ विश्व पर्वतारोहण समुदायमा ‘निम्स दाइ’का रूपमा परिचित बन्नुभएको थियो। उहाँले पर्वतारोहण क्षेत्रमा अन्य धेरै कीर्तिमानसमेत स्थापित गर्नुभएको थियो।
प्रारम्भिक विवरणअनुसार हिमपहिरोले आरोहीहरूलाई ६ हजार मिटरभन्दा माथिको उचाइबाट करिब ८०० मिटर तलसम्म बगाएको थियो। प्रतिकूल मौसम र दुर्गम भूगोलका कारण तत्काल उद्धार अभियान सञ्चालन गर्न कठिनाइ भएको बताइएको छ।
यस घटनापछि पुर्जाका व्यावसायिक सहकर्मी तथा प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु (डेभिड) शेर्पा शुक्रबार नै पाकिस्तान प्रस्थान गर्नुभएको थियो। ब्रड पिकको यो दुर्घटनाले नेपाली पर्वतारोहण क्षेत्रलाई गम्भीर क्षति पुर्याएको भन्दै देश–विदेशबाट श्रद्धाञ्जली व्यक्त भइरहेका छन्।