जनकपुर र लहानमा कर्फ्यु हट्यो, जनकपुरमा निषेधाज्ञा कायम; गोलबजारमा अझै कर्फ्यु

2k Shares

जनकपुरधाम । धनुषाको जनकपुरधाम र सिरहाको लहानमा जारी कर्फ्यु हटाइएको छ। तर जनकपुरमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको छ भने सिरहाको गोलबजार क्षेत्रमा भने कर्फ्यु यथावत् राखिएको छ।

धनुषा जिल्ला प्रशासन कार्यालयले शुक्रबारदेखि लागू गरिएको कर्फ्यु हटाउने निर्णय गरे पनि जनकपुरधामका संवेदनशील क्षेत्रमा अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा कायम रहने जनाएको छ। प्रशासनले शान्ति–सुरक्षा स्थिति क्रमशः सामान्य बन्दै गएको भए पनि सम्भावित अप्रिय गतिविधि रोक्न निषेधाज्ञा आवश्यक रहेको जनाएको छ।

यस्तै, सिरहा प्रशासनले लहान नगर क्षेत्रमा कर्फ्यु हटाएको छ। पछिल्ला दिनमा अवस्था सामान्य बन्दै गएपछि लहानमा सर्वसाधारणको आवागमन र दैनिक गतिविधि सहज बनाउने निर्णय गरिएको हो।

unnamed (1).webp

तर सिरहाको गोलबजार क्षेत्रमा भने अवस्था पूर्ण रूपमा सामान्य नभएकाले कर्फ्यु कायमै राखिएको प्रशासनले जनाएको छ। सुरक्षा निकायले त्यहाँ उच्च सतर्कता अपनाइरहेको छ र परिस्थितिको निरन्तर मूल्याङ्कनपछि मात्रै थप निर्णय गरिने बताइएको छ।

यसअघि सुनसरी घटनापछि मधेश प्रदेशका विभिन्न जिल्लामा तनाव फैलिँदा जनकपुर, लहान, गोलबजारलगायत क्षेत्रमा कर्फ्यु र निषेधाज्ञा जारी गरिएको थियो। पछिल्लो अवस्थाअनुसार धेरै स्थानमा जनजीवन सामान्यतर्फ फर्किन थाले पनि संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था अझै कडा पारिएको प्रशासनको भनाइ छ।

सम्बन्धित समाचार