काठमाडौँ । सरकारले खाना पकाउने एलपी ग्यास पूर्ण भरिएको (१४.२ केजी) सिलिन्डर वितरण सुरु गरेको दुई सातामै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा फेरि ग्यास अभाव देखिएको छ।
डिलर र विक्रेताकहाँ खाली सिलिन्डरको लामो लाइन लाग्न थाले पनि नेपाल आयल निगमले भने आपूर्तिमा कुनै समस्या नरहेको दाबी गरेको छ। ग्यास व्यवसायीका अनुसार अहिलेको समस्या ग्यास आयात घटेर नभई एकैपटक माग अस्वाभाविक रूपमा बढेकाले उत्पन्न भएको हो।
केही महिनादेखि बजारमा थन्किएका हजारौं खाली सिलिन्डर एकैपटक रिफिलका लागि आउनु र उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर भण्डारण गर्न थालेपछि वितरण प्रणालीमा चाप परेको उनीहरूको भनाइ छ।

ग्यास विक्रेता महासंघका पदाधिकारीका अनुसार आधा भरिएको (७.१ केजी) सिलिन्डर वितरण हुँदा रोटेसन चाँडो बिग्रिएको थियो। अहिले पुनः पूर्ण सिलिन्डर वितरण सुरु भएपछि पुराना खाली सिलिन्डर एकैपटक बजारमा आएर माग अत्यधिक बढेको छ। यसको प्रत्यक्ष असर एउटा मात्र सिलिन्डर भएका विद्यार्थी, साना परिवार र दैनिक उपभोगकर्तामा परेको व्यवसायीहरूको भनाइ छ।
एलपी ग्यास उद्योगीहरूले पनि आपूर्ति घटेको नभई सरकारको नीतिगत ढिलाइ र बजारमा फैलिएको त्रासका कारण कृत्रिम अभावको अवस्था सिर्जना भएको बताएका छन्। उनीहरूका अनुसार सामान्य अवस्थाको तुलनामा अहिले ग्यास आपूर्ति ५ देखि ७ प्रतिशतसम्म बढाइएको छ।

यता नेपाल आयल निगमले भने ग्यास अभाव देशव्यापी नभएको दाबी गरेको छ। निगमका अनुसार काठमाडौंका केही क्षेत्र, दाङ र सुर्खेतमा मात्रै बढी चाप देखिएको हो। बजार सन्तुलनका लागि दैनिक ग्यास आपूर्ति बढाइएको र उद्योगीलाई पनि थप परिमाण बजारमा पठाउन निर्देशन दिइएको निगमले जनाएको छ।
निगमले ग्यास वितरणमा वृद्धवृद्धा, विद्यार्थी, सुत्केरी महिला, बिरामी तथा घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकता दिन विक्रेतालाई निर्देशन दिएको छ। साथै आवश्यकताभन्दा बढी ग्यास सञ्चित नगर्न उपभोक्तासँग आग्रह गर्दै केही दिनभित्र बजार अवस्था सामान्य हुने विश्वास व्यक्त गरेको छ।